गुन्जमान लामा(जि.एम.)
काठमाडौं/काभ्रेबाट काठमाडौं गई विभिन्न व्यवसायमा संलग्न काभ्रेली युवाहरुले सञ्चालन गरेको बाढीपहिरो कोषको दोश्रो पूर्ण बैठक सम्पन्न भयो । बैठक बाढीपहिरोबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणमा केन्द्रीत रह्यो ।
बैठकमा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य गणेश लामाको प्रमुख आतिथ्यता, बागमति प्रदेशको पुर्वमन्त्री चन्द्र लामा र युवासंघ नेपालको केन्द्रिय उपाध्यक्ष अमित लामा विशेष अतिथि रहेको थियो । बैठकमा रोशी गाउँपालिका १,२,३,४,५ वडा र बेथानचोक ६ र नमोबुद्ध नगरपालिका ९ को युवा व्यवसायी समाजसेवी व्यक्तित्वहरुको बाक्लो उपस्थित रहेको थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले हाम्रो बाढीपहिरो कोषले गरेको काम कार्यबाट गाउँघर, समाजमा अत्यन्त सकारात्मक सन्देश प्रवाह भएको विश्वास गर्दै अहिले देशमा कुनै चुनाव अधिबेशन आएको छैन राजनीति भन्दा माथि उठेर पुनः निर्माणमा लाग्न युवाहरुलाई आव्हान गर्दै भौतिक पुनः निर्माणको लागि सम्बन्धित निकायमा पहलका लागि लाग्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
बैठकमा बागमति प्रदेश पुर्वमन्त्री चन्द्र लामाले बाढीपहिरोबाट क्षतिग्रस्त स्थानमा ग्याबिङ जाली, खानेपानीको पाइप पठाइ सकेको र आवश्यक स्थानमा पठाउन पहल भइरहेको जानकारी दिनुहुँदै भौतिक पुर्वाधार पुनःनिर्माणको लागि सम्बन्धित निकायको ध्यानाकर्षणको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
युवा संघ नेपालको उपाध्यक्ष अमित लामाले बाढीपहिरोका कारण हाम्रो संरचनाहरु तहसनहस भएको, बाटोघाटो अबरुद्ध हुँदा समस्या उत्पन्न भएको बेला युवा व्यवसायी समाजसेवीहरुको प्रयास र पहलले केही अप्ठ्यारो ठाँउ बाहेक सबै ठाँउहरु सुचारु भएको अवस्था छ भने भौतिक पुर्वाधार पुनः निर्माणको लागि सम्बन्धित निकायमा पहलका लागि प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बैठकमा समाजसेवी नेकपा(एमाले) नेतृ बबिता बोहराले रोशी १,२,३ र नमोबुद्ध नगरपालिका जोड्ने झोलुङ्गे पुल तत्काल पुनः निर्माण प्रहरी चौकी सुरक्षित स्थानमा व्यवस्थापन, बाढीपहिरोबाट क्षतिग्रस्त हस्पिटल तत्काल पुनःनिर्माणको बारे सम्बन्धित निकायमा पहल गर्नुपर्ने बिचार राख्नुभयो ।
युवा समाजसेवी पुर्व गाविस उपाध्यक्ष नीरबहादुर लामाले बाढीपहिरो पीडितलाई दिने राहत कार्यमा केहीपीडितको नाम लिष्ट, छुटेको र यसरी पीडितको नाम छुट हुँदा कतै वडाले राजनीतिकरण गरेको जस्तो जनगुनासो आएको भन्दै बैठकमा ध्यानाकर्षण गर्नुभयो ।
बाढीपहिरो कोषको अध्यक्ष अशोक लामाले रोशी ४ वडामा राहत लान खोजेको तर त्यहाँको जनप्रतिनिधि वडा अध्यक्ष नै सम्पर्कमा नआएको र बाढीपहिरो पीडित नाम र संख्या थाहा नहुँदा ४ नम्बर वडामा अहिलेसम्म जान नसकेको जानकारी दिनुभयो । अध्यक्ष लामाले बाढीपहिरो कोषको उद्देश्य बाढीपहिरो ग्रस्त क्षेत्र विशेष गरी नमोबुद्ध नगरपालिका, बेथानचोक र रोशी गाउँपालिकाको १ देखि १२ वडा सम्म राहत तथा पुनः निर्माण कार्यक्रममा सहयोग गर्ने प्रतिबद्ध गर्दै बैठक समापन गरेको थियो । बैठक बाढीपहिरो कोषको सचिव क्षितिज लामाले संचालन गरेको थियो ।