काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारी, दलाल, बिचौलियालाई संरक्षण गर्ने अहिलेको सरकार आफै कुहिएर झर्ने बताए।
माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौँमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले माओवादीले सरकारको भ्रष्ट गतिविधिमाथि खबरदारी नगर्ने हो भने संघीय लोकतान्त्रिक गणतन्त्र नै खतरामा पर्ने बताए । संविधान र गणतन्त्रको रक्षाका लागि खबरदारीमा जान आवश्यक रहेको उल्लेख गर्दै सडकबाट सरकार फाल्न नलागेको टिप्पणी गरे । उनले कांग्रेस र एमालेसँग समीकरण गरेर गल्ती गरेको महसुस गरेको र मन्त्री प्रधानमन्त्री बनाइदिनुस् भनेर नआउने बताए । भ्रष्ट पार्टी र तिनका नेताको सङ्गतले माओवादी बिग्रँदै गएकोले सच्चिएर अघि बढ्ने बताउँदै ढुक्कले सरकार चलाउन आग्रह गरे । उनले माओवादीले अब कांग्रेस एमालेसँग प्रधानमन्त्री र मन्त्री माग्दै नआउने समेत उल्लेख गरे ।
आफ्नो नेतृत्वको सरकारले गरेको सुशासनका अभियानलाई सरकारले अवरुद्ध गरेको उल्लेख गर्दै उनले आफूलाई सच्याउन सरकारलाई आग्रह गरे । ‘नत्र संसद् र सडकमा तपाईँहरूले त्यो प्रतिरोध देख्नुपर्नेछ, जसको तपाइँहरुले कल्पना गर्नुभएको छैन’– अध्यक्ष प्रचण्डले भने– ‘बाढी पहिरो र विपत्तिमा नदेखिने सरकार दल विभाजन गर्ने अध्यादेश ल्याउन, उपसभामुख हटाउन र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हटाउन देखिन्छ, यो हर्कत सरकारका लागि महँगो पर्ने छ।’
अध्यक्ष ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी लगायतका विभिन्न काण्डका मुद्दाहरू कहाँ पुगे भनेर सरकारलाई प्रश्न गरे । उनले नक्कली भुटानी शरणार्थी, बाँसबारी, गिरिबन्धु, बाल मन्दिर लगायतका काण्ड कहाँ पुगे भनेर प्रश्न गर्दै उनले भने– ‘यो प्रश्नको जवाफ दिने ल्याकत यो सरकारसँग छैन किनभने यो सरकार यी काण्ड खोतल्न होइन, मिलाउन बनेको हो ।’ उनले पछिल्लो समय सरकारले सार्वजनिक संस्थान निजी क्षेत्रलाई दिने तयारी थालेको खबर आएको उल्लेख गर्दै एउटा पनि उद्योग बिचौलियालाई बेच्ने काम गरियो भने त्यो नेपाली जनतालाई सैह्य नहुने बताए ।
अध्यक्ष प्रचण्डले माओवादी नेतृत्वको सरकारले नेपालमै सुशासनको सवालमा ऐतिहासिक रेकर्ड बनाएको उल्लेख गर्दै यसलाई कसैले मेटाउन नसक्ने बताए । उनले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिकाको पक्षमा थालेको अभियान नेपालकै लागि पहिलो रेकर्ड भएको बताए ।
अहिले देशका दलाल, भ्रष्ट र बिचौलियाहरूलाई माओवादी पार्टी र त्यसको नेतृत्व प्रचण्ड ठुलो त्रासको रूपमा देखिन थालेको र जनतालाई फेरि एक पटक माओवादीलाई नै बलियो बनाउनुपर्छ भन्ने चिन्ता देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनताको हक अधिकारका लागि निरन्तर लड्ने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष प्रचण्डले सहकारी ठगी प्रकरणमा दोषी देखिएका कांग्रेस एमालेका नेताहरूलाई अनुसन्धानमा नल्याएकोमा विरोध गरे । उनले संसदीय समितिले कांग्रेस र एमालेका नेताहरूलाई पनि दोषी ठहर गरेकोमा उनीहरूलाई अनुसन्धानको दायरामा नल्याएर प्रतिपक्षमा रहेका रवि लामिछानेलाई मात्रै पक्राउ गर्नु राजनीतिक विभेद र पूर्वाग्रहको उपज भएको बताए ।
नेकपा माओवादी केन्द्रमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी केन्द्र नेतृत्वको सरकारले सुशासन र समृद्धिलाई तीव्रता दिएको बताए । उनले भने–‘हामी दावाका साथ भन्न सक्छौँ यो देशमा राणा शासनको अन्त्य पछाडि २००७ सालदेखि कुनै सरकारले नगरेको काम हाम्रो सरकारले गर्यो । भ्रष्टाचारीहरूलाई कानुन र कारबाहीको दायरामा ल्यायो । त्यतिखेर भनियो, यो प्रधानमन्त्री र गृहमन्त्री रहँदासम्म सुत्न नपाइने भो, नीद हराम भो भनियो । भ्रष्टाचारीहरू, ठगहरू, राज्य लुट्नेहरू त्यसो भन्थे ।’
प्रधानमन्त्री बनेका बेला प्रचण्डले सुशासन, समृद्धि र सामाजिक न्यायलाई अघि बढाएको बताउँदै भ्रष्टाचारविरुद्ध, राज्यलाई लुट्नेहरू, ठगीका विरुद्ध ठुलो अभियान सुरु गरेको बताए । लोडसेडिङ अन्त्य गर्न, मिटरब्याजीहरूविरुद्ध कानुन बनाएर पाँच छ हजार पीडितलाई मुक्त गराउन भूमिका खेलेको उल्लेख गरे । श्रेष्ठले भ्रष्टाचारीहरूलाई जोगाउन, भ्रष्टाचार गर्नका लागि माओवादी नेतृत्वको सरकार ढालेर अहिलेको सरकार बनेको बताए ।
कार्यक्रम नेकपा माओवादी केन्द्र बागमती प्रदेश इन्चार्ज अग्निप्रसाद सापकोटाको सभापतित्वमा भएको थियो। सभा शुरु हुनुअघि हजारौंको र्याली निकालिएको थियो।