प्रदीप सापकोटा
२०७८ पुषको तेस्रो साता । जाडोले विस्तारै गाँज्दैछ । कामको चटारो भनिसाध्य भए पो,ट्टाउँदो छ यसको भार । १२ बर्षे मकर मेला लाग्दैछ् हाम्रो पनौतीमा यो आउँदो माघ महिनाभर । मकरको आवश्यक तयारी गर्नैपर्ने भएकोले नगरपालिकाले जननिर्वाचित वडा अध्यक्षहरुको अध्यक्षतामा विभिन्न समितिहरु गठन गरी कार्यभार तोकेको छ । म अदालत गएको दिन कार्य विभाजन भएको रहेछ म प्रचार प्रसार समितिको सदस्य सचिव । मेरा संयोजक छन् वडा नं. २ का अध्यक्ष पुरुषोत्तम अधिकारी,सदस्यमा सन्तोष केसी,ज्योती मिर्मिेरे साकोसका अध्यक्ष उद्धब सापकोटा,नसां पुचका राजाराम कर्माचार्य,लायन्स क्लवका मिरा गिरी लगायत सहयोगी कर्मचारीको रुपमा हरि भुजु,तारा श्रेष्ठ र सिता तामाङ ।
हामी पूर्वमेची महाकालीसम्म मकरमेला प्रचार गर्ने सोचमा छौं । यहि अनुरुप तयारी पनि भएको छ । फ्लेक्स चार्ट,पर्चा,स्टिकर,ब्रसर लगायतका प्रचार सामाग्री तयारी भएको छ । कोभिडको तेस्रो लहरको फैलावट हुनसक्ने अनुमान छ । त्यसैले छोटो समयको पूर्वतिर जाने कार्यक्रम तय हुन्छ । हरि भुजुको कारमा संयोजक र सहयोगी कर्मचारी नवराज खड्का सहित हामी प्रचारको लागि निस्कन्छौं । मलाई पुषको २२ गते साँझसम्म अनिवार्य जिल्ला आइसक्नुपर्छ । नेकपा एमालेको जिल्ला अधिवेशनमा निर्वाचन अधिकृतको रुपमा केन्द्रिय निर्वाचन आयोगले मलाई नियुक्ति गरेको छ । पुरुषोत्तम दाई प्रतिनिधि छन् । उमेदवारीमा दावी पनि छ उनको । त्यसैले छोटो यात्रा बनेको छ । २० गते विहान करिव ८ बजे एकजोर लुगा झोलामा हालेर निस्कें घरवाट म ।हरिजी मलाई लिन घरमै आएका थिए । कुशादेवीबाट संयोजक थपिए । नवराज दाईलाई पनौतीबाट टिपेर हामी श्रीखण्डपूर हुँदै धुलिखेल पुग्छौं । काभ्रे भन्जिङ भन्दा अलिक पर बाजोखेतको टसि डोल्मा होटलमा नवराज दाईलाई केही विस्कुट,उसिनेको अण्डा र जुस किन्न लगाएर अघि बढ्छौ हामी ।
रोशीको थली बजार पुग्दा मैले घडी हेरें विहानको १०.४० बजेको रहेछ । घामको न्यानो राप कारको भित्रसम्म आइपुग्छ । कालढुंगा नजिक वाटोको बायाँतर्फ फाँटमा सुन जस्तै पहेंलपुर छ तोरी । हामी आदिलिंग कुशेश्वर महादेव पुग्छौं सवा एघार बजे ।यसको उत्पत्तिको वारेमा हिमबत्खण्डमा समेत वयान गरिएको छ । रोशीखोला लीलावती रोहमतीको दोभानमा अबस्थित यो पवित्र तिर्थस्थल काभ्रे,रामेछाप र सिन्धुलीको संगमस्थल पनि हो । यहाँको बारेमा धेरै खालका किंवदन्ति रहेको स्थानीय राम बहादुर लामाले बताए । घरमा पालेको कैली गाइले दुध नदिएको देखेर किसान चिन्तित थिए । जंगलमा गाई चरिरहेको बेला ति किसानले कैली गाईको चियो गर्दा गाई कुश घारीतिर दौडिएर गएको र त्यहाँ चारै थुनवाट दुधको धारा बगाएको देखेछन् ।त्यसपछि के रहेछ भनि खनेर हेर्दा शिवलिंग भेटिएको कथा सुनाए । स्थानीय शिक्षक बताउने सुमन अधिकारीले बताए अनुसार करिव पाँच छ सय वर्ष अघी समसुद्दिन भन्ने मुस्लिम सम्राटको फौज सुनकोशीको बाटो नेपाल प्रवेश गरेको थियो त्यहि फौजले तरवारको् प्रयोग गरि कुशेश्वर महादेवको लिंगलाई काटेको हो । शिवलिंग अलि ढल्केको देखें मैले । नजिक रहेको शिल्पकारिताले भरिपूर्ण उमामहेश्वरको मन्दिर रहेछ । उमामहेश्वरको मुर्ति पछाडी एउटा सेतो गोलो जस्तै ढुंगा छ । त्यस ढुंगामा घिस्रिंदा कम्मर ढाड दुखेको ठीक हुने भएकोले तिर्थालुहरु त्यहाँ झुम्मिने गरेको बताए पुजाको सामाग्री बेच्न बसेका भवी श्रेष्ठ भाइले । उनले मन्दिर परिसर र मन्दिरको मुख्य प्रवेशद्धारमा हाम्रो मकरमेलाको ब्यानर झुण्याउन सहयोग समेत गरे । त्यहाँ मन्दिर परिसरमै बैदिक गुरुकुल पनि सञ्चालन गरिएको रहेछ । कक्षा ८ सम्म पढाई हुने त्यहाँ २५ जनाले अध्ययन गरिरहेको भविले बताए । हामीले ब्यानर र स्टीकर टाँसेको केही स्न्याप फोटो लियौं । ताजा मेवा वेच्न राखिएको रहेछ । एककिलो मेवा किनेर तास्न लगायौं र खायौं अनि हामी अघि बढ्यौं ।
गोलोन्जोर गाउँपालिकामा छौं हामी । हाम्रा आँखा अगाडी उभिरहेको छ पहाड । मैले आँखा टटउन्जेल हेरें । त्यसको मुखाकृति कतै ठोसिएको,कतै चोइटिएको घाउ भएको,कतै नाँगै,कतै बनले ढाकिएको त कतै भत्किएर कुच्चिएको देंखे उदासपन बोकेर बसेको । उसको नियतीमा मलाई दया लाग्यो । यस्तै पहाडलाई दाँया पार्दै्र खुर्काेट पुग्यौं हामी अपरान्हको पौने एक बजे । होटेल पीस हेवेन । पनौतीकै गीता थापा र उनको जोडीले हार्दिकभावका साथ आफ्नोपनको कार्पेट विछ्याएर हाम्रो स्वागत गरे । केही फ्लेक्स,स्टीकर टाँस्ने काम भयो । माया मिसिएको ताजा खाना खाइयो । मेरा चिनारु संगम लामा भेट भए । त्यहाँ खुर्काेट महोत्सवको आयोजना भैरहेको रहेछ दुई हप्ता चल्ने गरी । संगम आयोजक मध्येका एक रहेछन् । उनले मकर मेलाको लागि पनौतीमा जग्गा भाडामा लिएको मलाई थाहा थियो । उनलाई महोत्सव स्थलमा व्यानर र स्टीकर टाँस्न जिम्मा लगाएँ । त्यहाँको महोत्सबमा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु दैनिक आउने गरेका रहेछन् । त्यहि मञ्चको माइकबाट मेलाको प्रचार गरिदिन अनुरोध गरें मैले । उनले तत्कालै माइकबाट फुकिदिए । पुरु दाईले त्यहाँको हस्पिटलका डाक्टरलाई फोन गरे र हामीलाई चिनापर्ची गराए । डा.राजन न्यौपाने सहयोगी रहेछन् । उनले पनि केही फ्लेक्स लगेर टाँस्न लगाए ।
हामी अघि बढ्यौं । म निदाएछु । ब्यूँझँदा सिन्धुलीको चियावारी पुगिएछ । कमलामाई नगरपालिका पुगेर निम्तो छोड्यौं प्रमुखको सचिवालयमा । नगर प्रमुख उपप्रमुख कार्यालयमा रहेनछन् । अनि वाहिरतिर मकरमेलाको फ्लेक्स राखेर माढी बजार हुँदै मुख्य सडक निस्केर अगाडी बढेउँ । अगाडी सडक कालोपत्रे हुँदै रहेछ । जाममा फसियो । केहि अगाडी भिमान पुगेपछि हामी बायाँ मोडियौं । भिमान खोलाको पुल तरेर इनार पानी पुग्यौं । यो नयाँ बाटो मेरो लागि ।यहाँबाट कटारी पुग्न जम्मा उनन्चास कि.मि. रहेछ । धारापानी,फेरी कच्चि बाटो,फेरी पक्की सडक हुँदै चुरीया पुगियो । माथिल्लो रानीबास पल्लोतिर देखियो घना जंगल । धर्तिका पीडाहरुलाई निशर्त ढाकिदिए जस्तो लाग्छ यी बनले । देब्रेतिर बिशाल खेतको फाँट तन्दा ओछ्याए जस्तो समथर । फेरी आयो निर्माणाधिन सडक,कच्चा हुने नै भयो । वयरवनीको लमतन्ने फाँटमा छौं हामी । खिरखिरे खोलाको पूल तरेपछि आज कहाँ बास बस्ने भन्ने छलफल चलाइयो । अहँ कतै रोकिएका छैनौ हामी । चियाको तलतल र भोकलाई मारेका छौं समय किफायत गर्न । घडीको सूइले चार बजेको संकेत गरेको छ । उदयपूरको गाइघाट बस्ने योजना बुन्छौं । यस बीचमा मैले काठमाडौमा रहेकी मेरी धर्मपत्नि यशोदालाई फोन गरेर अकास्मात तय भएको यात्रा र अहिले पुगेको ठाउँको बारेमा जानकारी दिंए ।
सडकको दायाँ राखिएको होर्डिङ्ग बोर्डले दुधौली नगरपालिकाको सीमा प्रारम्भ भएको जनाउ दिन्छ । रतनपूरमा पूल लामो छ भर्खर बनाइएको । एक अर्धबैश्य महिला र एक बालक टाउकोमा एक भारी दाउरा बोकेर हिंडेको देखें । साँच्चै मानिसको टाउको कति बलियो है ! दनुवार नमूना बस्ती आइपुग्छ । एक हुल स्कूले केटीहरु भेटिए । आफ्नै धुनमा हसिमजाक गर्दै घर जाने बाटो काट्दैछ्न । स्कूले जीवन सम्झेर नोष्टाल्जिक हुन्छु म । कसैको डर नहुने । आफ्नो मनको राजा हुन पाइने । यहाँ वरिपरीको वातावरण नियाँले मैले ः छरिएका पातला बस्ती । परम्परागत काठेघर ज्यादा । पक्कीघर कम । कुथौलीसम्म यस्तै पाएँ । प्रकृतिको सुन्दरता हेरेर थाकेका छैनन् मेरा आँखा । गीत बजिरहेछ । साथीहरु आआफ्नै धुनमा गफमा मस्त छन् । तर म भने प्रकृतिको अनुपम सुन्दरतामा लठ्ठ परेको छु ।
हाम्रो कारले बाटो नाप्दैछ । चालक छन् हरी भुुजु । उनी लामो दुरीमा सवारी चलाएर पहिलो पटक निस्केका हुन् उनकै कार हो । खेतमा महिलाहरु काम गर्दै गरेका देखिए । यो नयाँ सडक भएकोले नयाँ बस्ती बिकास नभैसकेको अवस्था छ । डकाह बजार चेकपोष्ट नजिक पुगेउँ । सरस्वती क्याम्पस रहेछ ।सडक नयाँ,ट्राफिक जाम किंचित छैन् । कर्माहा पुग्दा देब्रेतिर लमतन्ने डाँडो,दाहिनेतिर समथर खेत ।गजब लाग्यो ठाकुर खोलामा लगातार चारवटा पुल रहेछन् । फाँटमा सुनजस्तै पहेंलिएको छ तोरी । दाउराका मुठा टाउकोमा बोकेका आधा दर्जन बालबालिका भेटिए । हावाको एक झोक्का कारको m्यालबाट हुर्रिएर भित्र पस्यो । अकस्मात चिसो महसुस भयो । मैले सीसा लगाएँ । घारीधुम्सी पुगियो । बाग्मती प्रहरी तालिम केन्द्र हँदै अघि बढेउँ । करिव तीन दर्जन खसी बाख्रा धपाउँदै अघिबाट आए एक जोडी मनुवा दुधौली खोलाको नजिकबाट । पर देब्रेतिर हेरें उदास आँखा लगाएर बसेको छ पहाड । भयानक साँझ पर्दैछ धर्तिमा । पोखरे पुगेउँ,दाहिनेतिर सडकसँगै जोडिएर गएको छ विशाल लमतन्ने जंगल ।
ककुर खोला तरेर कटारी रंगशाला पुग्छौं ।सँगै कटारी बसपार्क रहेछ । कृष्ण धन्जुलाई हरिजीले कल गरे । भगवती मन्दिर छेउ बोलाए । नजिकै चोकमा दुनियाँको ग्लोव रहेछ । सामुहिक फोटो सेसन गरियो । मैले उत्सुकताकासाथ बजार नियाँले । बडो आत्मिय रहेछन्,धन्जु पनौतीका साहुजी कृष्ण । धन्जु पनौती पेसेन्जरहरुको निम्ति अपरिचित नाम हैन् । नेपालका विभिन्न जिल्लासम्म यसका गाडी छुट्छन् । हामीले उनलाई केही फ्लेक्स र स्टीकर जिम्मा लगायौं । यतै बसौं भन्ने आग्रहलाई धन्यवाद दिंदै बाटो छोट्याउन हामी गाइघाट पुगेर बस्ने योजना रहेको बतायौं र त्यहाँबाट विदा भयौं ।
बास्तवमा यात्राका प्रत्येक प्रहरहरु यादगर हुन्छन् । चिसो, तातो,दुःखकष्ट,अभाव,भोक,थकान जे जस्तो परिस्थिति आएपनि यात्राको आनन्द बेग्लै महसुस गर्छु जहिल्यै म । त्यसैले हिजो बेलुका तय गरिएको आजको यात्रामा मन नरम्ने कुरै भएन । यात्रा तय खवरले मात्र पनि मेरो ओठभरी मुस्कान फुलेको थियो मेरो ।
निलगगनमा ताराहरुको विस्कुन छरिएको छ । हाम्रो यात्रा गाइघाट लक्षित भएर बढ्दैछ । झुल्के खोला,रातु खोलामा सडक सञ्जालको काम भैरहेको देखिन्छ । भोर्ले पुग्दा सडकको दायाँबायाँ जंगल देखिन्छ । प्रष्ट छ जंगलबिचमा सडक बनाइएको छ । एउटा मिनिटाटामा मान्छेहरु कोच्चिएर,झुण्डिएर यात्रा गरिरहेको देख्दा मेरो मानसपटलमा अतीतका यादहरु ताजा भएर आए । म सानो हुँदा ठूलो एकादशीमा गाउँबाट चार नारायणसम्म यात्रा गरेको सम्झना आयो ।
डाङडुङे खोला नाम जस्तै देखियो । रोडा,चिप्स उद्योगसँगै रहेछ । अब अध्यारोले उज्यालो छोपिंदै गएकोले होला सडकमा सवारी साधन,मान्छेको आउजाउ छैन् । यहाँबाट करिव एक किलोमिटर बाटो अप्ठ्यारो भो पार हुन । होचो सवारी साधन भएर पनि होला । खाल्डै खाल्डा सडक । होचो सवारी साधनलाई यातना दिए जस्तो ।वगपति नजिक नाँगो डाँडा छ । खोला हैन् सुख्खा ढुंगे बगर छ । केही साना उमेरका बाबु नानी भेटिए कहाँ गएर आका हुन कुन्नि लिफ्ट मागे । तर कसरी दिनु ! क्षमता नै छ्रैन् कारको ।राइडोल पुग्यौं । सडक नजाँनिदो पाराले उकालिएको जस्तो लाग्छ । चियाको तलतल,भोक सब यात्रामा भूलिएको छ । लक्ष्य गाइघाट अझै आइसकेको छैन् । नेपालटार पुग्दा झम्के साँझ अझै अघि बढीसकेको थियो । बाटो जंगलतिर छिर्र्योे । सायद नयाँ स्थानतिरको यात्रा भएर होला मन सिमल झैं हलुँगो भएको छ । निमेषभरमै अध्यारोले धर्ति छोपिन्छ । सुनसान छ बाटो । हामी चार भाइ कारमा हुँइकिएका छौं । धर्तिले आफ्नो खोकिलामा उज्यालो लुकाएकोले होला मैले वरिपरिको दृष्यपान गर्न सकिरहेको छैन् । हाम्रा यात्राका सहयात्रीहरु रमाइला गफमा रमिइरहनु भएको छ ।
गाइघाट पुग्दा बेलुकाको सात बजिसकेछ । अनि किन अध्याँरो नहोस त ! हामीले चोक अगाडी कार रोक्यौं । बासस्थानको खोजीमा छौं हामी । तीन जना अर्धबैश्यहरु गफिंदै रहेछन् ।
एक्स्यूज मि । यहाँ बस्नको लागि होटल कुन राम्रो होला <’
मैले उनीहरुको गफलाई भंग गरे सायद । तीन मध्येको एकजनाले अलिक पर गएर देव्रेतिर जानुस त्यहाँ होटलहरु प्रशस्तै छन् । एउटा नयाँ होटल आर एन पनि छ भनेर सुझाए पछि आभार प्रकट गरेर उनले भनेकै दिशामा हामी मोडियौं । ती सज्जनलाई धन्यवाद दिंए मैले मनमनै राम्रै होटल बताएकोमा । हामीले २ वटा कोठा बुक गरेऊ । एउटा कोठामा पुरु दाई र म अर्काेमा हरि भुजु र नवराज दाई । म कोठामा फर्निचर,बेड विस्तरा,टिभि,एसि,बाथरुम सबैलाई नियालेर हेर्छु । होटल भर्खरै चालु भएको नयाँ जस्तो भान पर्छ । तातोपानीमा नुहाएरफ्रेस भइयो । बेयराले मिनु लिएर आए । हामीले रोटी,दाल फ्राइ र मिक्स भेज अर्डर गरेउँ । एकछिन कोठामा थकाई मारेउ । थकाई मेटाउन रसमाधुर्यसँग साक्षात्कार गर्न सबैको मञ्जुरी हुने नै भयो । हल्का रसमाधुर्यसँग स्न्याक्स लिएर आपसमा आत्मियता साट्छौं । रोटी तयार भएसँगै खायौं हामीले । पुरु दाई र म बाहिर परसम्म गयौं मिठा पान खाएर आयौं । सुनसान प्राय थियो शहर । एकाध खुलेका पसलमा पनि साउजीहरु सर्टर झारेर बन्द गर्दै गरेका देखिन्थे । भनौं शहर निरवतातर्फ लम्कँदै थियो । माथितिर हेर्दा बादलरुपी कालो बस्त्र धारण गरेर बसेको आकाश देखियो ।
भोली विहानको यात्रालाई सकस बनाउँछ कि क्या हो दाई मौसमले <’
मैलै आशंका ब्यक्त गरें ।
आ जे त होला । आकाशले चाहिं पानी पर्ने संकेत गरेको छ । हेरौं न ।’
पुरु दाइले सहजै जवाफ दिए । हुन नि हो । देखाजायगा नै त हो । कोठामा पुगेर हामी एकछिन गफिन्छौं। आजको यात्राको समिक्षा गर्छाैं । छोटो समयमा लामो यात्रा भएकोमा सबको एकमत छ । भोलीको यात्राको योजना बनाउँछौ हामी । विहान सबेरै यहाँबाट निस्केर बराहक्षेत्रको दर्शन गर्ने र चताराधाम पुग्ने अनि त्यहाँ श्री १००८ वालसन्त मोहनशरण देवाचार्य जी महाराजलाई मकरमेलाको निमन्त्रणा गर्ने योजना तय हुन्छ ।बिहान सखारै निस्कने भएकोले कोठा र खानाको विल तिरिन्छ । नवराज दाई अरु भन्दा बढी थकाइले ओइलिएका देखिए । त्यसैले छिट्टै निदाए । अघिसम्मको यात्राको उमंग सायद थकाइले निमोठेको थियो । तैपनि यात्राका छालहरुले छचल्काई रहेछन् मलाई । यात्राको बारेमा मेरो अनुभव सायद अरुको भन्दा बेग्लै छ । जब कुनै पीडा हुन्छ नि त्यतिवेला यात्रा गर्दा पीडा भुल्न सजिलो हुने रहेछ । प्राकृतिक मनोरम दृष्यहरुको रस्वादानले पूर्नताजगी भर्छ बाबै मेरो शरिरमा । प्रकृतिसँग निर्धक्क दुखेसो पनि गर्छु म त । जव प्रकृति उसको सुन्दरतासँगै मलाई ग्वाम्ल्याङ्ग अंङ्गालोमा बेर्छे नि तव विर्सन्छु हर पीडा,अभाव र दुःखका अवयबहरु पनि म । यता पुरु दाईसँगको सानिध्यता मलाई असाध्यै रमाइलो लाग्छ । उहाँसँगको लामो यात्रामा निस्किएको त आजै हो र पनि बाक्लै बसउठ भएकोले कुनै अप्ठ्यारो महसुस छैन् ।
गर्मी नै छ यहाँ उतिसाह्रो जाडो छैन् । रात आफ्नै गतिमा घस्रिंदै थियो । मैले हरी जी र पुरु दाईको मुहार पढें उनीहरुको मुहारमा पनि त्यही थकित भावनाहरु प्रतिविम्बित भएको देखिन्थ्यो । सायद एकनासको यात्राको थकानले होला सबैको हाल मेरो जस्तै छ । फेरी भोली छिट्टै यहाँबाट निस्कनु पनि त छ । भोलीको यात्राको चित्र मनमा कोर्दै कतिखेर निदाँए थाहै पाइन् ।
पनौती,काभ्रे,–९८५११३३७४३, [email protected]
.