देवकुमार मोक्तान
गर्मीबाट चिसाेतिर संक्रमण हुँदै गरेकाे शरद ऋतुकाे माैसमले शरीरमा उसैउसै उर्जा थपिरहेकाे हुन्छ । त्यसमाथि न्याय क्षेत्रमा दिइने दशैंकाे लम्बेतान विदाकाे खाली समयले सुदूर अतीतकाे यादहरुलाई बल्झाउने रहेछ । हुन त दशैंलाई हिन्दुकाे चाड भनिन्छ । तर तामाङ समाजमा यही एउटै समयमा "म्हेनिङ" पर्व मनाइन्छ । मेराे प्याराे गाउँ गिम्दिङमा पनि म्हेनिङ मनाइन्थ्याे । फुलपाती मान्ने, अष्टमीमा राँगा वा भैंसीकाे बलि दिने, गच्छे अनुसार खसी बाेका काटेर मासु खाने, नवमीमा भाेज खाने र दशमीदेखि पूर्णिमासम्म ठुलाबडाकहाँ टिका लगाई आशीर्वाद थाप्न जाने चलन तामाङ समाजमा पनि थियाे र अहिले पनि छ । कतिपय कूलहरुका घर घरमा जमरा राख्ने चलन पनि थियाे । याे अवसरमा छाेरा मान्छेहरु काेसेली बाेकेर ससुराली र मामाघर एवं छाेरीचेलीहरु माईत जान्थे । यसरी नै आफ्ना ज्वाइँ चेलीहरु र भान्जाभान्जीहरु पनि आउँथे । ठाउँ ठाउँमा थापिएका पिङहरु खेलेर रमाइलाे गरिन्थ्याे । अहिले पनि गरिन्छ । मैले पनि त्यसै गरेँ । म्हेनिङ किन मनाइन्छ र याे कसले शुरुवात गर्याे भन्ने प्रश्नसँग कुनै सराेकार थिएन उबेला । वर्षमा एकचाेटि आउने, दुई छाक मिठाे खाने र एक जाेर राम्राे लुगा लगाउन पाउने पर्व यही थियाे । तर अचेल तामाङ समुदायमा दशैं र म्हेनिङकाे बारेमा चर्चाहरु चल्ने गरेकाे छ, खैर यी कुराहरु आफ्नै ठाउँमा छन् । तर म ती अतीतका क्षणहरुकाे सम्झनामा हराइरहेकाे छु ।
बाल्यकालका ती दिनहरु राम्रै याद छ, म्हेनिङ आउँदाकाे हावा नै बेग्लै हुन्थ्याे । मनस्थिति एकदम चङ्गा हुन्थ्याे । शरीरका राैं राैंमा म्हेनिङकाे राैनकता छाइरहेकाे हुन्थ्याे । बाले बाेका, घिउ, केरा, कागति, बाेडी आदि बेचेकाे पैसाले सकी नसकी बनेपाबाट किनेर ल्याएकाे लुगा गाउँकाे जितार मामाकाे हाते कलमा सिलाउन दिइन्थ्याे । गाउँभरिका बच्चाहरुकाे लुगा सिलाउने ठाउँ उहीँ त थियाे । हामी दैनिक, कहिलेकाहीँ त राति अबेरसम्म पनि आफ्नाे लुगा सिलाउने काम कत्तिखेर सकिएला भन्ने खुल्दुली बाेकेर जितार मामाले लुगा सिलाएकाे ठाउँकाे वरिपरि झुम्मिएर बस्थ्याैं । कहिलेकाहीँ त हामीले नाकबाट फालेकाे श्वासकाे बलले टुकी बत्ति नै निभ्थ्याे, तैपनि जितार मामा रिसाउनु हुन्नथ्याे । साह्रै शालीन हुनुहुन्थ्याे जितार मामा ।
कान्छा हजुरबुबाकाे घरछेउकाे गाेठमा ढिकी थियाे । त्यही ढिकीमा टाेलभरिका मानिसहरु जम्मा भएर परस्पर पर्म गरेर धान उसिन्ने, भुट्ने र चिउरा कुट्ने गरिन्थ्याे । भरखरै कुटेर ढिकीबाट निकालेकाे ताताे ताताे चिउरा खाँदाकाे स्वाद नै बेग्लै हुने । धान भुट्नकाे लागि बारीका पाटामा गएर मकैकाे सुकेका ढाेडका ठुटाहरु बटुल्ने काम कति गरियाे, गरियाे । त्यस्ताे काम गर्दा कति रमाइलाे हुन्थ्याे फेरि । गाउँभरि चिउरा कुटेकाे ढिकीकाे मधुर मधुर "काेकुल्दाङ....काेकुल्दाङ" काे आवाजले म्हेनिङकाे छनक दिन्थ्याे ।
अष्टमीकाे दिन गिम्दिङकाे आम्बुह्वारा (काेईरालाे बारी) काे चाैरमा आ-आफ्ना माैला (टाेले समूह) राँगा भैंसीहरु काटिन्थे जुन दृष्य हेर्न गाउँभरिका बालबालिकाहरु नयाँ लुगाहरुका सजिएर चाैरकाे वरिपरि डिलमाथि झुम्मिन्थे । राँगा भैंसीकाे भित्री पेटकाे जालीले माेरेर ड्याङ्ग्राे र डमरु बनाइन्थ्याे । मेराे बुबाले मलाई प्रत्येक म्हेनिङमा ड्याङ्ग्राे बनाउनु हुन्थ्याे । धेरै पटक त मेरा मावली हजुर बुबाले नातिलाई भनेर ड्याङ्ग्राे बनाएर हाम्राे घरमै आएर पुर्याइदिनु हुन्थ्याे । त्यही ड्याङ्ग्राे ठटाएर साथिहरुसँगै नक्कली झाँक्री बनेर मन्दिर र गुम्बाकाे वरिपरि नाचेकाे यादहरु आज पनि झल्झली सम्झन्छु । झाँक्रीका कतिपय खे (मन्त्र) हरु कण्ठै थियाे ।
गाउँभरि मासु र मिठाे परिकारहरु, कुटिँदै गरेकाे ताजा चिउरा अनि नयाँ लुगाकाे सुगन्धले मनै हरहर हुन्थ्याे । अघि र पछि भन्दा म्हेनिङकाे बेला जता जाे जस कहाँ पुग्दा पनि बेग्लै वास्ता हुने, मिठाे खानेकुरा दिने, माहाैल अलग्गै हुने ।
सानाेमा म्हेनिङकाे समय गाउँमा गणेश मन्दिर छेउकाे ठुलाे आँप (गणेश अम्बा) काे पश्चिमतर्फकाे हाँगामा बाबियाेकाे पिङ बाटेर लगाइन्थ्याे । गाउँभरिका तरुण तन्नेरीहरु त्यहीँ जम्मा हुन्थ्याे । अनुभवी बुढाहरु र तन्नेरीहरु पिङकाे डाेरी बाट्थे । बाबियाे बटुल्न र बाटेकाे डाेरी समाउने काम बच्चाहरुकाे हुन्थ्याे । पिङ हाल्दा कुनै दुर्घटना नहाेस् भनेर लामा झाँक्रीले धुप अक्षेता चढाएर पुजा गर्थे । जब पिङ हाल्ने काम सकेपछि त्यही ठाउँ आकर्षणकाे केन्द्र हुन्थ्याे । भएभरका मान्छेहरु त्यहीँ जम्मा हुने । तर पिङ खेन्ने पालाे ठुला मान्छेहरुकाे मात्र आउँथ्याे । हामीलाई छुनै दिँदैनथे । रिस त उठ्थ्याे तर केही गर्न सक्ने हैसियत हामीमा थिएन । हामी साना मान्छेहरु घर घरमै घरकाे निदालमा नाम्लाेकाे डाेरी फुकालेर पिङ हालेर खेल्थ्याैं । गणेश आँपकाे पिङ रातिकाे समयमा जुन बेला खाली हुन्छ, त्यै बेला माैका छाेपेर खेल्थ्याैं । यसरी माैका छाेपेर पिङ खेल्न जाने हाम्राे पनि एउटा समूह नै हुन्थ्याे ।
बाल्यकालकाे म्हेनिङ यस्तै थियाे, आज पनि मिठाे सम्झना आइरहेकाे छ ।
गिम्दिङबासी मेरा आदरणीय अग्रजहरु, समकालीन मित्रहरु र पछिल्लाे पीँडीका प्रियजनहरुमा याे म्हेनिङकाे पलहरु सुखद र उल्लासमय रहाेस् भन्ने कामना गर्दछु !