काठमाडौं । नेपालमा नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गरी वैज्ञानिक समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्ने मूल लक्ष्य र उद्देश्यका साथ नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)बीच पार्टी एकता अधिवेशन भई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको घोषणा भएको छ ।
एकता घोषणा सभालाई सम्बोधन गर्दै नवगठित पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य ‘किरण’ले ठूलो पार्टी बनाएर सरकारमा जानका लागि नभई क्रान्ति गर्नका लागि पार्टी एकता गरेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, –जनताले विकल्प खोजेका छन् । जनताले खोजेको सही विकल्प हामी हौं । अब हामी जनताको नेतृत्व गछौं र जनताले खोजेको नयाँ जनवादी व्यवस्था क्रान्ति गरेर ल्याउँछौं ।
उहाँले साम्राज्यवादले नेपालमा पुराना दलालहरुको विकल्पमा नयाँ नयाँ दलालहरु तयार पारिरहेको र नयाँ दलाल मार्फत् पूर्णरुपमा बद्नाम र असफल संसदीय व्यवस्थालाई टिकाउन षड्यन्त्र गरिरहेको चर्चा गर्दै उहाँले भन्नुभयो, संसदीय व्यवस्था टिकेको क्रान्तिकारी नेपाली सर्वहारावर्ग कमजोर भएर मात्र हो । सर्वहारा वर्ग भनेको सिंह हो र अरु भनेका स्याल हुन् । सिंह अहिले कमजोर भएको बेला स्यालहरु कराइरहेका छन् । सिंह बलियो भएर गर्जन थालेपछि स्यालहरुको भागाभाग हुन्छ ।
उहाँले पार्टीका नेता कार्यकर्ता र क्रान्तिकारी जनताको साथ पाए फेरि पनि क्रान्तिको नेतृत्व गरेर क्रान्तिलाई लक्षित गन्तव्यसम्म पु¥याउने आँट, साहस र हिम्मत रहेको भन्दै आफूहरु नै नेपाली कम्युनिस्ट आन्दोलनको मूल प्रवाह भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, जसले इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलन, संघर्ष र बलिदानको स्वामित्व लिन्छ, उ नै आन्दोलनको मूल प्रवाह हुन्छ । हामी बारा, पर्साको किसान आन्दोलन, झापा विद्रोह, ०४६ सालको जनआन्दोलन, दशवर्षे ऐतिहासिक महान् जनयुद्ध सबैको स्वामित्व लिन्छौं । ती सबै संघर्षमा भएको बलिदानको उच्च सम्मान गर्छाै । हामी नै ती सबै आन्दोलन, संघर्ष र युद्धका सच्चा उत्तराधिकारी हौं । हामी नै साँचो अर्थमा नेपाली कम्युनिस्ट आन्दोलनको मूलप्रवाह हौं ।
उहाँले नयाँ जनवादी क्रान्तिका लागि नेपाली जनताले विभिन्न कालखण्डमा धेरै रगत बगाएको, त्याग, वीरता र बलिदानका अद्वितीय कीर्तिमानहरु कायम गरेको चर्चा गर्दै अब संसदीय व्यवस्थाप्रतिको जनताको तीव्र असन्तुष्टी र वितृष्णालाई क्रान्तिमा बदल्ने बेला आएको बताउनु भयो ।
उहाँले नेकपा (मशाल) लगायत संशोधनवादी र अवसरवादी पार्टीहरुभित्र रहेका क्रान्तिकारीहरु अगामी दिनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा एकीकृत र ध्रुवीकृत हुँदै जाने बताउनुहुँदै छरिएर रहेका सबै क्रान्तिकारीहरुलाई एकता र ध्रुवीकरणमा आउन आव्हान समेत गर्नुभयो ।
पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला कञ्चनले नेपालमा विद्यमान राष्ट्रियता, जनतन्त्र र जनजीविका लगायत तमाम समस्याको एउटै मात्र समाधान क्रान्ति रहेकोमा जोड दिनुभयो । उहाँले नेपाली समाजमा विद्यमान तमाम समस्याहरुको सविस्तार चर्चा गर्दै उहाँले सामन्त, दलाल तथा नोकरशाही पुँजीवादमा आधारित संसदीय व्यवस्था रहेसम्म नेपालमा स्थिरता कहिल्यै पैदा हुन नसक्ने ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो,–अस्थिरताको मुख्य कारण भनेकै संसदीय व्यवस्था हो । संसदीय व्यवस्था नै भ्रष्टाचार र कमिसनको उपज हो । अब नेपालमा संसदीय व्यवस्था राख्नु हुन्न । यसलाई जरैदेखि उखेलेर फाल्नैपर्छ । त्यसैले क्रान्ति अपरिहार्य छ, अनिवार्य छ र अवश्म्भावी छ ।
क्रान्तिकारी चेतना र क्रान्तिकारी पहलकदमीको परिणामस्वरूप एकताबद्ध भएका चर्चा गर्दै उहाँले विचार, राजनीति, संगठन, आवश्यकता र बुझाईका हिसाबले यो पार्टी एकता नयाँ उचाईको एकता भएको दावी गर्नुभयो । उहाँले सहिद, वेपत्तायोद्धा, घाइतेहरुको सपना पूरा गर्न र क्रान्तिको बाँकी कार्यभार पूरा गर्नका लागि नै आफूहरुले पार्टी एकता गरेको पनि स्पष्ट पार्नुभयो ।
परिवर्तित परिस्थिति अनुसार कार्यदिशा, कार्यनीति, चेतना र योजनाको विकास गर्दै लैजाने बताउनुभयो । उहाँले भन्नुभयो, अहिले पँुजीवादी साम्राज्यवादीहरुले आर्टिफिसियल इन्टेलिजेन्सलाई हतियारको रुपमा प्रयोग गरिरहेका छन् । सर्वहरावर्गले पनि नयाँ प्रविधिको उच्चतम् प्रयोग गरेर नै क्रान्तिमा विजय हाँसिल गर्न सक्छ । परिस्थितिको सापेक्षतामा क्रान्तिका साधनहरुको प्रयोग गर्दै क्रान्तिको प्रक्रिया अगाडि बढ्छ र बढाउनुपर्छ ।
उहाँले साम्राज्यवादीहरुले नेपालमा नयाँ नयाँ प्रयोग गर्न खोजिरहेको चर्चा गर्नुहुँदै बाबुरामको नयाँ शक्ति, रविन्द्र मिश्रको विवेकशील साझादेखि रवि लामिछानेसम्मको राष्ट्रिय स्वतन्त्र पार्टी आदि सबैको पछाडि साम्राज्यवादी डिजाइन र षड्यन्त्र रहेको दावी गर्नुभयो ।
उहाँले अहिले प्रायः सबै संसदवादी पार्टीभित्र पुराना नेताका विरुद्ध युवा नेतालाई अगाडि सार्ने, पुराना संसदवादी पार्टीको विकल्पमा नयाँ संसदवादी पार्टी निर्माण गर्ने डिजाइन चलिरहेको चर्चा संसदीय व्यवस्थालाई अब साम्राज्यवादीहरुको जुनसुकै डिजाइनले पनि टिकाउन नसक्ने ठोकुवा गर्नुभयो ।
उहाँले कम्युनिस्ट आन्दोलनमा क्रान्ति युवाहरुले गर्छन्, बुढाहरुबाट क्रान्ति हुँदैन भनेर निकै ठूलो भ्रम छरिएको चर्चा गर्दै उहाँले क्रान्ति युवाले होइन, सही क्रान्तिकारी विचार र दृष्टिकोणले गर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, क्रान्ति गर्नलाई क्रान्तिकारी विचार र दृष्टिकोणसहितको क्रान्तिकारी पार्टी चाहिन्छ । बुढाको ठाउँमा युवा ल्याउँदैमा क्रान्ति हुने होइन । सही क्रान्तिकारी विचार दृष्टिकोणले मात्र क्रान्ति हुन्छ । त्यसै कारण हामीले कमरेड किरणलाई अगाडि लगाएर पार्टी एकता गरेका हौं । क्रान्ति आवश्यक छ । सम्भव छ । हामीले सम्भव बनाएर देखाउँछौं ।
पार्टीका बरिष्ठ नेता तथा कार्यालय सदस्य एवम् एकता घोषणा सभाको अध्यक्षता गर्दै नेता सिपी गजुरेल गौरवले अब जनताको घर घर र ओठ ओठमा ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाललाई पु¥याउनु पर्छ भन्दै नयाँ जनवादी क्रान्ति पूरा गर्ने पार्टी यही भएको दावी गर्नुभयो ।
एकता घोषणा सभामा स्वागत मन्तव्य राख्दै पार्टीका कार्यालय सदस्य रामसिंह श्रीसले क्रान्तिका लागि क्रान्तिकारीहरुबीचको एकता अपरिहार्य रहेको बताउनु हुँदै एकता र ध्रुवीकरणको प्रक्रियामा आउन छरिएर रहेका सबै क्रान्तिकारीहरुलाई आव्हान गर्नुभयो ।
पार्टीका कार्यालय सदस्य हेमन्तप्रकाश ओली सुदर्शनले सञ्चालन गरेको पार्टी एकता घोषणा सभामा युवा नेता उदयबहादुर चलाउने, नेकपा (मशाल)का नेता चिन्तामणि पौडेल, पूर्व नेकपा (बहुमत)का सल्लाहकार समितिका अध्यक्ष असारे काका, पूर्व नेकपा (क्रान्तिकारी माओवादी)का सल्लाहकार समितिका संयोजक कमल चौधरी लगायतका विभिन्न वक्ताहरुले पार्टी एकताको महत्वबारे प्रकाश पार्नुभएको थियो ।
सामना साँस्कृतिक परिवार लगायतका कलाकारहरुले जोशिला क्रान्तिकारी गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा पार्टीका कार्यालय सदस्य प्रितमले ३१ बुँदे समसामयिक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो प्रस्तावलाई तालि बजाएर अनुमोदन गरिएको थियो । कार्यक्रममा पार्टीका नेता कार्यकर्ता र जनसमुदायको खचाखच उपस्थिति रहेको थियो । कार्यक्रममा पार्टीका सबै कार्यालय सदस्यहरुको मञ्चमा उपस्थिति रहेको थियो ।