काठमाडौं । सत्तारुढ गठबन्धनको शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आगामी जेठभित्र स्थानीय निकाय निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ।
पाँचदलीय सत्तारुढ गठबन्धनको बैठकपछि यसबारे जानकारी दिँदै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जेठभित्र स्थानीय निकाय निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय बैठकले गरेको जानकारी सञ्चारकर्मीहरुलाई गराएका थिए ।
‘अब सरकारले निर्वाचन आयोगसँग परामर्श गर्छ र स्थानीय निकाय निर्वाचनको मिति तोक्छ’ कार्कीले भने।
बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्नुपर्ने भए त्यसको प्रक्रिया अघि बढाउन पनि सरकारलाई सुझाव दिएको मन्त्री कार्कीले बताए ।
स्थानीय निकाय निर्वाचनबारे शनिबार बिहान पनि बसेको सत्तारुढ गठबन्धनको बैठक साँझ फेरि बसेको हो।
बिहानको बैठकमा सत्तारुढ गठबन्धनका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय निकाय निर्वाचन नसार्न भनी प्रधानमन्त्री शेरबहादुर देउवालाई थमाएको पत्र अधिकार क्षेत्रभन्दा बाहिर भएको भन्दै आलोचना गरेका थिए।