धुलिखेल /अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व काभ्रेमा अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम गरिएको छ ।
काभ्रेपलाञ्चोक जिल्लामा मानवअधिकारको अवस्थाको बारेमा गरिएकाे छलफल कार्यक्रममा बोल्दै पनौती नगरपालिका उपप्रमुख गिता बन्जाराले बाढी पहिरो जस्ता विपदपछि समाजमा मानसिक समस्या देखिएकाले समुदायको सशक्तिकरण, सचेतना र सामाजिकीकरणमा जोड दिनुपर्ने बताइन् । जिल्लामा घरेलु हिंसा र सम्वन्ध विच्छेदका घटना बढेको बताउँदै हिंसा र अपराधलाई न्युनिकरण गर्न आवश्यक रहेको तर्क गरिन् ।
नेपाल बार एशोसियसन काभ्रेका अध्यक्ष हरिशरण दाहालले आर्थिक मन्दीका कारण समाजमा अनुचित लेनदेनका घटना बढेको र सामाजिक समस्यालाई छलफलका माध्यमबाट समाधान गर्न आवश्यक रहेको उल्लेख गरे ।
नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघनका विषयलाई मेलमिलाप नभएर कार्वाहीको दायरामा लैजान सुझाव दिए ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य टोम सापकोटा, नेपाल मानवअधिकार संगठन बागमति प्रदेशका अध्यक्ष राजु सिग्देल, माइती नेपालकी जिल्ला कार्यक्रम संयोजक गायत्री गौतम, जिल्ला प्रहरी कार्यालय महिला तथा बालवालिका सेवा केन्द्रकी राजकुमारी प्यासी श्रेष्ठ, जिल्ला अदालत काभ्रेपलाञ्चोककी अधिकृत हिराकुमारी भण्डारी, सक्रिय प्लस नेपालका कमल बन्जारा र महिला अधिकारकर्मी कल्पना विश्वकर्मा, इन्सेक जिल्ला प्रतिनिधी सुमित्रा आचार्य लगायतले मानवअधिकार सबैको साझा सवाल भएकोले सरोकारवालाको भूमिका अपेक्षा गरे । उहाँहरुले देशको संविधान र कानुनको विषयमा जनता नै जागरुक नरहेको भन्दै लिखित दस्तावेजलाई कार्यान्वयनमा लैजाना नसक्दा पनि अधिकार प्रभावित हुने बताए । काभ्रेका १३ वटै स्थानीय तहमा स्थानीय सरकार र सरोकारवाला एकसाथ भएर जागरण फैलाउन लाग्नु पर्ने वक्ताहरुको भनाई थियो । परम्परागत अपराधका विषयमा अध्ययन अनुसन्धान भएपनि पछिल्लो समय बढ्न थालेका आधुनिक अपराध समाजका लागि जोखिमको रुपमा रहेको बताइयो ।
कार्यक्रममा सन् २०२४ मा काभ्रेमा मानवअधिकारबाट बञ्चित गराइएका १ सय ६९ घटना अभिलेखमा रहेको तथ्याकं प्रस्तुत भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मंगलबार आयोजना गरेको कार्यक्रममा मानवअधिकार सञ्जाल काभ्रेपलाञ्चोकका संयोजक भोजराज तिमल्सिनाले उक्त तथ्यांक प्रस्तुत गरेका हुन् ।
समग्र जिल्लाको मानवअधिकार अवस्था उल्लेख गर्दै तिमल्सिनाले सन् २०२४ मा काभ्रेमा घरेलु हिंसाका १८५ ओटा घटना इन्सेकमा अभिलेख भएको बताए । घरेलु हिंसाका उजुरीमध्ये १२५ थान मुद्दा मिलापत्र भएपनि ५९ जना निवेदन दिएपछि सम्पर्कमा नआएको बताए ।
यो वर्ष जिल्ला अदालत काभ्रेपलाञ्चोकमा ३ थान घरेलु हिंसाका मुद्दा परे पनि अदालतमा सम्वन्ध विच्छेदका ५४६ थान मुद्दा परेको र कारागारमा कोठा नपुगेर टेन्ट राखेर बस्नुपर्ने बाध्यता रहेको दाबी गरे । बाढीपहिरो, आत्महत्या, बैंकिङ कसुर, अपराध र विपत्तिका घटनाका कारण मानव अधिकारको अवस्थामा कमजोरी आएपनि सचेतनाका माध्यमबाट न्यूनिकरण गर्न जोड दिए ।