बनेपा/स्थानीयले मुद्दा हालेपछि करिब डेढ महिना यता काम रोकिएको बनेपा-६, बुडोलकाे कल्भर्ट निर्माणले आजबाट निकास पाएको छ ।
आज बनेपा नगरपालिकाको सभाहलमा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका उप-प्रमुख रिमबहादुर तामाङको अध्यक्षतामा सरोकारवालाहरु बीच बसेको बैठकले तीन बुँदे निर्णय गरेपछि रोकिएको कल्भर्ट निर्माणको काम अघि बढ्ने भएको हो ।
बैठकले गरेको निर्णयअनुसार 'अरनिको राजमार्ग स्तरोन्नतिका क्रममा उक्त राजमार्गको साँगा धुलिखेल सडक खण्ड अन्तर्गत बनेपा नगरपालिका वडा नं. ६, बुडोल चोकस्थित चेनेज १२ +९६० मा भएको कलभर्टका सम्बन्धमा स्थानीय राधेश्याम के.सी. समेतले सम्मानित उच्च अदालत पाटनमा दर्ता गरेको रिट नं. ०८०-WO-१५८६ को रिट निवेदनका कारण सडक निर्माण कार्यमा भई रहेको विलम्बका सम्बन्धमा छलफल गर्दा देहाय बमोजिम गर्ने निर्णय गरियो' भनिएको छ।
बैठकले गरेको निर्णय निम्नानुसार रहेको छ-'क)प्रस्तुत विषयमा मिति २०८१/१/२ मा सरोकारवालाहरु समेतको उपस्थितिमा भएको छलफल बैठकको निर्णय नं. १ बमोजिम तयार भएको नक्सा अनुसार अरनिको राजमार्गको साँगा धुलिखेल सडक खण्डको बनेपा नगरपालिका वडा नं. ६, बुडोल चोक स्थित चेनेज १२ +९६० मा भएको कल्भर्टको तल्लो भागमा Catch Pit बनाई कल्भर्टबाट आएको पानी ह्युमपाईप राखी चण्डेश्वरी खोलातर्फ पठाउने र पहिलेदेखि कायम भए अनुसार ६०० मि.मि. को पाइप आवश्यकता अनुसार खोल्न र बन्द गर्न मिल्ने गरी सिंचाई खानेपानी प्रयोजनका लागि संरचना निर्माण गर्ने ।
ख) बुँदा नं (क) बमोजिम कल्भर्टको तल्लो भागमा नक्सा बमोजिम Catch Pit बनाउँदा सडक सिमाना भन्दा बाहिर जानुपर्ने भई थप जग्गा आवश्यक परेमा सम्बन्धित जग्गाधनीले सो बमोजिमको संरचना निर्माण गर्न जग्गा उपयोग गराउन सहमति प्रदान गर्ने ।
ग) बुँदा नं. (क) र (ख) मा उल्लेखित विषय पूर्ण रुपमा कार्यान्वयन गर्न गराउन सम्मानित उच्च अदालत पाटनमा दर्ता गरेको रिट नं. ०८०-WO-१५८६ को रिट निवेदन सम्बन्धित पक्षले कानून बमोजिम फिर्ता लिने निर्णय गरियो ।
अघिल्लो बैठकले हाल निर्माधिन कल्भर्टको पानीलाई ब्यक्तिगत जग्गा मार्फत निकास नगराई सडक सिमाभित्र छुट्टै ड्रेन मार्फत चण्डेश्वरी खोलामा निकासी गराउने गरी प्राविधिक विश्लेषण सहितको विकल्पमा सहमतिमा जाने निर्णय गरेको थियो ।
बनेपा नगरपालिका -६ का वडाध्यक्ष सचितानन्द के.सी. ले यो निर्णयमा आफ्नो सहमति रहेको बताउँदै यसअघि पटक पटक भएको छलफलमा स्थानीयले पर्याप्त चासो नदिँदा र बुझ्न नखोद्दा समस्या आएको कुरामा जोड दिनुभयो। अहिले जे कुरामा सहमति भयो यो पहिला नै उल्लेख भएको र स्थानीयसँग पटक पटक छलफल गर्ने क्रममा सहमति समेत भएकोमा के कति कारणले असमझदारी बन्न पुग्यो र अदालत पुग्न बाध्य भयो आफुले बुझ्न नसकेको वडाध्यक्ष के.सी.को भनाइ थियो।
यसअघि मुद्दा हाल्ने पक्षले जिसस प्रमुख गौतमलाई २०८० साल चैत २९ गते बुडोलमै बोलाएर सहजीकरण गरिदिन अनुरोध गरेका थिए । निर्माण पक्षले आफुहरुको कुरा नसुरेर जबरजस्ती कल्भर्ट निर्माण थालेपछि अदालतमा जानु परेको स्थानीयहरुले बताँउँदै आएका छन् ।
अदालतले स्थानीयको माग बमोजिम तत्काल उक्त कल्भर्ट निर्माणको काम नगर्न आदेश दिएपछि अहिले काम ठप्प छ । सोही मुद्दाको यही ११ गते अदालतमा पेशी तोकिएको थियो ।
मुद्दा हाल्नेहरु मध्येका राधेश्याम के.सी.ले पेशी अगावै आफुहरुको माग सम्बोधन भएकोले मुद्दा फिर्ता लिने बताउनुभयो। ‘हामीले रहर र कसैको उक्साहटमा मुद्दा हालेका होइनौँ । हामीलाई थप पीडित बनाइयो । अहिले कल्भर्ट राखिएको ठाउँमा कुनै राजकुलो छैन् । निर्माण हुनु अघि पनि हामीले यो ठाउँमा कल्भर्ट आवश्यक छैन् भनेका थियौँ । तर जबरजस्ती बनाउन थालियो । त्यसपछि हामी अदालत जान बाध्य भयौँ । सडक नबनोस् भन्ने हाम्रो कुनै उद्देश्य होइन ।’ मुद्दा हाल्ने पक्षको भनाई छ ।