भक्तपुर/नेपाल बार एशोसियसन भक्तपुर जिल्ला अदालत इकाईको अध्यक्षमा रामसुन्दर खाईतु निर्वाचित हुनुभएको छ। आज सम्पन्न निर्वाचनमा खाईतुले १३४ मत प्राप्त गर्दै विजयी हुनु भएको हो।
उहाँका निकटतम प्रतिस्पर्धी सरोजकुमार तुँछेंले १०७ मत प्राप्त गर्नुभयो भने अर्को प्रत्याशी गम्भिरमान ज्याख्वले ३० मतमा सीमित हुनुभयो। खाईतु नेपाल डेमोक्रेटिक लयर्स एसोसियसन (डिएलए)का आधिकारिक उम्मेदवार हुनुहुन्थ्यो भने तुँछें डिएलएका बागी उम्मेदवारका रूपमा बृहत लोकतान्त्रिक, प्रगतिशील, गणतान्त्रिक, राष्ट्रवादी, समाजवादी एवं स्वतन्त्र पेशागत कानूनी व्यवसायी समूहबाट उम्मेदवार बन्नुभएको थियो।
निर्वाचनमा डिएलएका अधिकांश आधिकारिक उम्मेदवारहरु विजयी भएका छन्। कार्यसमिति सदस्यतर्फ एक सिटबाहेक सबै पदमा डिएलए प्यानलको जित भएको छ।
उपाध्यक्ष पदमा प्रियकुमार थापा १२९ मतसहित निर्वाचित हुनुभयो। उहाँका प्रतिस्पर्धी शम्भुप्रसाद दाहालले ११४ मत प्राप्त गर्नुभयो। सचिवमा अनिश सुवालले १५१ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी रामभक्त सुवाल १०४ मतमा सीमित हुनुभयो।
कोषाध्यक्षमा शेषांश गिरी निर्वाचित हुनुभयो। उहाँले ११६ मत प्राप्त गर्नुभयो भने उनका प्रतिस्पर्धी सुमन श्रेष्ठले १११ र महेन्द्र खायमलीले ३५ मत पाउनुभयो।
सहसचिवमा निर्मला सुवाल १६६ मत ल्याएर निर्वाचित हुनुभयो। उहाँका प्रतिस्पर्धी रिता कार्की खत्रीले ८९ मत प्राप्त गर्नुभयो।
महिला सदस्यतर्फ कल्पना कोजु १३८ मतसहित विजयी हुनुभयो भने उहाँकी प्रतिस्पर्धी रामेश्वरी श्रेष्ठले १०३ मत पाउनुभयो।
कार्यसमिति सदस्यतर्फ सुन्दर पुरी १०२, किरण गाइजु १२८, राजेश्वरी प्रजापति १२८, विष्णुराम न्हुछें १२४, संजिवप्रसाद दुलाल १११, सुमन कार्की ११३ र कान्छी विति प्रजापति १०६ मतसहित निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत किरण न्यौपानेले जानकारी दिनुभयो। निर्वाचित सदस्यहरूमध्ये केही तुँछे प्यानलबाट पनि निर्वाचित भएका छन्।
यसैगरी, पार्षद पदमा भने डिएलएका सम्पूर्ण आधिकारिक उम्मेदवारहरू विजयी भएका छन्। निर्वाचित पार्षदहरूमा बालकृष्ण प्रजापति, अभिकेश्वर पोखरेल, हिमविक्रम थापा, धर्मरत्न खाईतु, रामबाबु फुयाल, ईन्दिरा न्यौपाने, तारा पोखरेल, राधिका गोसाईं, सुमित्रा मल्ल, प्रकाश धौवञ्जार, विक्रम बखुन्छें, मन्दिरा केसी र प्रदिप कार्की रहनुभएको छ।
भक्तपुर बार एसोसियसनमा कुल २९२ सदस्य छन्। निर्वाचनमा २७६ मत खसेको थियो।