बनेपा । बनेपा नगरपालिका–६ ले ‘वडाको अभियान शुद्ध खानेपानी, पानीविना रहँदैन जिन्दगानी’ मूल नाराका साथ एक घर एक धारा समानुपातिक खानेपानी वितरण अभियान प्रारम्भ गरेको छ ।
आर्थिक वर्ष २०८२/०८३ को नगरस्तरीय बजेटबाट सो अभियानका लागि “एक घर एक धारा समानुपातिक खानेपानी योजना” शीर्षकमा रु. २५ लाख र “डाँडागाउँ ट्याङ्की मेन लाइन विस्तार” शीर्षकमा रु. १० लाख गरी कुल रु. ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
वडा नं. ६ अन्तर्गत अरनिको राजमार्ग दक्षिण, सिलुमार्ग पूर्व, खहरे खोला पश्चिम र अरनिको राजमार्ग उत्तर क्षेत्रका बस्तीहरूलाई समेट्ने गरी बृहत छलफल कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रमको सभापतित्व वडा अध्यक्ष सचितानन्द के.सी. ले गरेका थिए । वडाध्यक्ष केसीले भेलाको औचित्यबारे प्रकाश पार्नुहुँदै वडामा विद्यमान खानेपानी समस्या र त्यसको दीर्घकालीन समाधानका लागि एकीकृत योजना अत्यावश्यक भएको बताए । उनका अनुसार, विगतमा उपभोग हुँदै आएका विभिन्न मौजुदा खानेपानी मुहान र पाइपलाइनहरूलाई एकीकृत गरी समानुपातिक वितरण प्रणालीमा रूपान्तरण गर्ने अभियान अघि बढाइएको हो ।
उनले भने, “सबै घरमा शुद्ध खानेपानी पुग्ने गरी एकीकृत प्रणाली लागू गर्नु हाम्रो साझा प्रतिबद्धता हो ।”
छलफलबाट योजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन गरिएको छ । समितिको अध्यक्षमा भैरव के.सी., उपाध्यक्षमा मानकुमारी लामा र भरत तिमल्सिना, सचिवमा राजु मानन्धर, सह–सचिवमा सुनिल घर्तीमगर र कोषाध्यक्षमा रामकुमार भुजेल चयन भएका छन् ।
सदस्यहरूमा रामचन्द्र अधिकारी, कृष्णप्रसाद दाहाल, श्यामचन्द्र श्रेष्ठ, दिपनारायण पराजुली, रिता गिरी, ओमप्रकाश केसी, सिता सिग्देल, गिता चौलागाई, निकिता तामाङ, सर्मिला विक र गणेशबहादुर भुजेल रहेका छन् । बाँकी तीन सदस्य पछि मनोनयन गरिने निर्णय गरिएको छ ।
कार्यक्रममा स्वागत वडा सदस्य विष्णु नारायण श्रेष्ठले र धन्यवाद ज्ञापन लालकृष्ण तिमल्सिनाले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन वडा सचिव गोकुल अधिकारीले गर्नुभएको थियो ।
वडा अध्यक्ष के.सी. का अनुसार अभियानबाट करीब ७६० घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने छन् । उनका अनुसार योजना छिट्टै कार्यान्वयनमा ल्याइने र सबै घरमा शुद्ध खानेपानी पुर्याउने लक्ष्य लिइएको छ ।