तेमाल गाउँपालिकाका गाउँसभाको १५ औं अधिवेशनमा गाउँपालिका अध्यक्ष श्री चन्द्र बहादुर तामाङज्यूले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८१।०८२ को निति तथा कार्यक्रम
(क) नीति तथा कार्यक्रम
आदरणीय सभाका सदस्यज्यूहरु,
गाउँपालिकाको सम्मानित गाउँसभाको १५ औं अधिवेशन समक्ष गाउँपालिको भाविसोच एवं जनआकांक्षा समेटिएको गरिमामय गाउँसभाको वार्षिक नीति तथा कार्यक्रम तर्जुमाका क्रममा गाउँपालिका लाइ विभिन्न सुझाव दिनु हुने कार्यपलिका सदस्यज्यूहरु, गाउँसभा सदस्यज्यूहरु, विज्ञ महानुभव, राजनीतिक दलका प्रतिनिधि एवं राजनीतिज्ञ, सञ्चारजगत्, नागरिक समाज, निजि क्षेत्र एवं विकास सहयत्री लगायत सम्पुर्ण आमा, बुवा, दाजुभाई तथा दिदी बहिनीहरु एवम् यस सभाको उद्घाटन सत्रमा उपस्थित आदरणीय महानुभावहरुमा गाउँपालिकाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
यस गरिमामय गाउँसभाको सभाध्यक्षको हैसियतले आजको गाउँसभाको १५ औं अधिवेशन बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई खुसी लागेको छ ।
यस अवसरमा म सर्वप्रथम नेपाल राष्ट्रको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना एवम् मुलुकको सर्वाङ्गीण विकास, समृद्धि र अग्रगमनको लागि विभिन्न समयमा भएका राजनीतिक क्रान्ति, सशस्त्र सङ्घर्ष एवम् आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात- अज्ञात सहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
“सुशासन सहितको विकास आजको आवश्यकता गुणस्तरयुक्त पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारमा हाम्रो प्राथमिकता” भन्ने मूल नारालाई आत्मसात गर्दै तेमाल गाउँपालिकाको आर्थिक-सामाजिक, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध तेमाल, सुखी तेमालको आकाङ्क्षा पूरा गर्न प्रतिबद्ध छ । तेमाली जनताको सुख र समुन्नतिका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै जनतामा गाउँपालिका प्रतिको आशा र भरोसा जगाउने गरी तेमाल गाउँपालिकाले आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयन गर्दै आएको छ ।
संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, राजश्वमा सुधार र पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, सुशासन प्रवर्द्धन, सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरणमा प्राथमिकता रहेका छन्।
सुशासनलाई संस्थागत गर्न विकास निर्माणलाई गति दिन र सेवाप्रवाहमा सारभूत र आमजनताले अनुभूति गर्नसक्ने सुधार गर्न तेमाल गाउँपालिकाको स्पष्ट कार्ययोजनाका साथ अघि बढेको छ ।
(ख) विकास तथा समृध्दिको लक्ष्य प्राप्तिका अवसर तथा चुनौती
विद्यमान अवसरहरूः
हाम्रा लागि देहाय बमोजिमका अवसरहरू रहेकाछनः
१. संविधानतः अधिकार सम्पन्न स्थानीय सरकार स्थापना भै २२ वटा एकल अधिकार सहित विविध साझा अधिकार किटान हुनु ।
२. आफ्ना अधिकार क्षेत्रका विषयमा ऐन, कानून तर्जुमा, योजना तर्जुमाको अभ्यास हुनु ।
३. विकास निर्माणका विविध विषयमा नीति कार्यक्रम तथा बजेट सञ्चालन गर्ने अधिकार प्रष्ट हुनु ।
४. गाउँपालिका भित्र भौगोलिक तथा सांस्कृतिक विविधता रहनु ।
५. सबै वडामा सडक पूर्वाधारको पहुँच हुनु ।
६. सडक निर्माणमा भएको लगानी संगै गाउँपालिका मा उत्पादित कृषिजन्य उत्पादनलाइ बजार सम्मको पहुँच स्थापित हुनु ।
७. घरहरूको निर्माणमा भवनसंहिता पालना हुने क्रम बढ्नु तथा नक्सापास गर्न नागरिकको आकर्षण बढ्नु ।
विद्यमान चुनौतीहरूः
हाम्रा सामु देहाय बमोजिमका चुनौतीहरू रहेकाछनः
१. रोजगारउन्मुख सीपमूलक शिक्षाको विकास गर्नु ।
२. बजारको सूचना कृषकलाई समयमा नै उपलब्ध गराउनु ।
३. गुणस्तरीय बीउबिजन मलखाद समयमा नै उपलब्ध गराउनु ।
४. युवा जनशक्तिलाइ कृषि ब्यवसाय प्रति आकर्षित गर्नु ।
५. ब्यावसायिक कृषकको संख्या वृद्धि गर्नु ।
६. वैदेशिक रोजगारीबाट फर्केका सीप युक्त युवाको सीप तथा पुँजीलाइ उद्यम विकासमा उपयोग गर्नु।
७. निर्माण भएको पूर्वाधारको मर्मत संभार पद्धतिको विकास गर्नु ।
८. सडक लगायतका पूर्वाधारको उपयोग योजना, डिजाइन तथा ड्रइङ विना गरिने सडक तथा अन्य पूर्वाधारका संरचना निर्माणको कार्यलाई रोक्नु ।
९. भिरालो ठाउँ, बाढी पहिरो तथा डुवान लगायतका प्रकोपको उच्च जोखिम भएका वस्तीमा भवन निर्माण कार्यलाई रोक्नु ।
१०. अव्यवस्थित बस्ती बिस्तारको क्रम रोक्नु तथा व्यवस्थित बस्ति विकास गर्नु ।
११. बैज्ञानिक, जलवायु उत्थानशिल तथा व्यवहारीक एवम् उपयुक्त भूउपयोग योजना तर्जुमा गरी लागू गर्नु।
१२. सञ्चार सेवा प्रदायक संस्थाहरू बाट प्रभावकारी सेवा प्राप्ति र ब्यवस्थित गर्नु ।
१३. प्राकृतिक स्रोत तथा नदिजन्य पदार्थ (ढुंगाबालुवा, गिट्टी,) को मापदण्ड अबलम्बन नगरि अत्यधिक दोहन रोक्नु ।
१४. विभिन्न कालखण्डमा गाउँपालिका मा निर्माण भएका पुर्वाधारका संरचना (पूँजीगत सम्पति) को लगत तयार तयार गर्नु, मुल्यांकन गर्नु तथा सेवा प्रभावमा प्रभावकारी उपयोग सम्बन्धी योजना (Asset Management Plan) तयार गरी कार्यान्वयन गर्नु ।
(ग) नीति तथा कार्यक्रम तर्जुमाका आधारहरू
नेपालको संविधानमा स्थानीय शासन सम्बन्धी उल्लेख भएको नीतिगत ब्यवस्था, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहले आवधिक, वार्षिक तथा रणनीतिक योजनाहरू बनाई लागू गर्दै जानुपर्ने प्रावधान, राष्ट्रिय योजना आयोगले जारी गरेको स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन २०७८, पन्ध्रौं आवधिक योजनाको मूलभूत पक्षहरू अनुसार विभिन्न चरणको सहभागितामूलक प्रक्रियाबाट यस गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम तयार गरिएकोछ ।
पन्ध्रौं योजना, दिगो विकास लक्ष्य २०३० को मार्गचित्र गाउँपालिका ले कार्यान्वयनमा ल्याइएका कानुनी प्रावधान समेतलाइ ध्यानमा राखी यो नीति तथा कार्यक्रम ल्याइएकोछ । गुणस्तरीय पूर्वाधार विकास निर्माणको कार्यमा गाउँपालिका भित्रका आम उपभोक्ताहरु, सर्वसाधारण जनता, उद्योगी ब्यवसायीहरु, सामाजिक संघसंस्थाहरु तथा विकास साझेदारहरूको निरन्तर सहयोग रहदै आएको छ। विकास र सुशासनको लागि जनप्रतिनिधिहरुले स्पष्ट दृष्टिकोण सहित अगुवाई गर्ने हो भने प्रशासनिक संयन्त्रले त्यसलाई प्राविधिक तथा कानुनी ढाँचा भित्र आवद्ध गराउने हो। आम नागरिकहरुले साथ सहयोग, सुझाव दिने हो । जनसहभागीता एवं जनपरिचालनको क्षेत्रमा गाउँपालिका ले कायम गरेको इतिहासलाई अक्षुण्ण राख्दै शासकीय प्रबन्धमा जवाफदेहिता, पारदर्शिता, गुणस्तरीयता एवं स्वच्छतायुक्त जनसहभागीता सुनिश्चित गरिने छ।
गाउँपालिकाको संगठन तथा व्यवस्थापन सर्भेक्षण लाई अद्यावधिक रुपमा अध्ययन गरी छरितो एवं चुस्त संगठन संरचना मार्फत प्रशासनिक तथा चालु खर्चलाई मितब्ययी बनाइनेछ । यसबाट सेवा प्रवाहलाइ प्रभावकारी तथा विकेन्द्रित तुल्याउदै पूँजीगत खर्च बढाउने नीति लिइएको छ । संघ तथा प्रदेश सरकारबाट प्राप्त अनुदान एवं वित्तिय हस्तान्तरणको उच्चतम र प्रभावकारी परिचालन एवं उपयोग गर्दै वित्तिय आत्मनिर्भरता कायम गर्न प्रयत्न गरिने छ।
(ङ) चालु आ.व. ०८०।८१ को हालसम्मका प्रमुख उपलब्धीहरूको संक्षिप्त विवरण भौतिक उपलब्धि
वित्तिय प्रगति
आ.व. २०८०।०८१ को बजेटबाट गाउँपालिले गरेको हाल सम्मको वित्तिय प्रगति
हाल सम्मको चालु खर्च ६६ प्रतिशत
पुँजीगत खर्च ४७ प्रतिशत
भौतिक पूर्वाधार विकास (सडक, खानेपानी, सिंचाइ) का क्षेत्रमा भएका उपलब्धी
सडक यातायातः
यस गाउँपालिका मा हाल सम्म ०.२४७ किमि पक्कि सडक, ३३.०५ कि.मि. सडक स्तोन्नती र २९.२५ कि.मी नयाँ ट्र्याक सडक, गोरेटो बाटो २ कि.मि. रहेकोछ । गाउँपालिका का सवै वडामा सडकको पहुँच पुगेकोछ।गाउँपालिका ले विभिन्न वस्ती र पर्यटकीय क्षेत्रहरूमा समेत सर्वयाम गाडी चल्ने सडक पूर्वाधार विस्तार गरेकोछ । गाउँपालिका बाट अन्य गाउँपालिका तथा प्रमुख राजमार्ग सम्मको सडक पहुँचलाई सुदृढ बनाइएकोछ I
भवन निर्माण तथा भवन निर्माण १९, मन्दिर/गुम्बा निर्माण तथा मर्मत ३४, सत्तल निर्माण १४ खेलमैदान/चौर निर्माण तथा मर्मत ८ र पार्क तथा/ चौतारा/प्रतिक ७ वटा
खानेपानी, उर्जा तथा सिँचाई:
गाउँपालिका का विभिन्न वडामा गरी अनुमानित १०५० धरधुरीमा स्वाच्छ खानेपानी पुगेको र १३.६ हे. मा सिंचाइ सुविधा प्राप्त हुने अवस्था सृजना भएकोछ । जलवायु परिवर्तनको प्रभावका कारण डिजाइन अनुसार पानी प्राप्त हुने कुरामा चुनौती थपिएकोछ ।
सामाजिक विकास (शिक्षा, स्वास्थ्य, लक्षित समूह) का क्षेत्रमा भएका उपलब्ध
१. पन्ध्र शैयाको अस्पताल निर्माण प्रक्रिया अगाडि बढाईएको छ।
२. आँखा दाँत ठुलो आन्द्राको क्यानसर निःशुल्क शिविर संचालन गरी ३२४८ जनालाई स्वास्थ्य सेवा उपलब्ध गराईएको छ ।
३. क्षयरोगका विरामहरुको पहिचाहन गरी उपचारको दायरामा ल्याउनको लागि छातीको एक्सरे सहितको निःशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गरिएकोछ ।
४. गर्भवती महिला र शिशुको स्वास्थ्य स्थिति पत्ता लगाउन निःशुल्क ग्रामिण भिडियो एक्सरे र सुत्केरी गराउन स्वास्थ्य संस्था सम्म आवत जावतको लागि निःशुल्क एम्बुलेन्स सेवा संचालन गरीएको छ।
५. स्वास्थ्य सम्बन्धी गम्भिर स्वास्थ्य समस्या भएका साथै आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई आर्थिक सहायता उपलब्ध गराईएको छ ।
६. स्वास्थ्कर्मिहरुको क्षमता अभिवृद्धि गरी गाउँघर क्लिनिकमा समेत उच्च रक्तचाप मधुमेहका विरामिको पहिचाहन गरि उपचार सेवा संचालन गरिदै आएकोछ ।
७. विकासका विभिन्न क्षेत्रमा महिला तथा युवाहरूको संलग्नता बढेकोछ । युवाहरूको खेलकुदमा संलग्नता बढाउनका लागि खेलकुद मैदान निर्माण भएका छन ।
आर्थिक विकास (कृषि, उद्योग, पर्यटन, सहकारी, रोजगार ) का क्षेत्रमा भएका उपलब्धी
कृषि तथा पशुपन्छी शाखाको आ.व. २०८०/८१ को हाल सम्मको प्रगतिः
१. पशुपन्छी रोग रोकथाम तथा रोग नियंत्रणकालागि औषधी खरिद गरि बितरण कार्य गरिएको
२. तेमाल २ मा कृषक समूह गठन, अभिमुखिकरण तथा क्षमता अभिब्रद्दि तालिम संचालन
३. किसान सुचीकरण कार्यक्रमको लागि गणक छनौट गरि सम्बन्धित वडामा ( वडा नं ६,७,८ र ९) पठाइएको
४. तेमाल-१ मा आलु पकेट विकास निरन्तरता कार्यक्रम संचालन गरिएको
५. ५०% अनुदान मा ७४ थान मिनिटिलर बितरण गरिएको
६. तेमाल-३ का माझी समादायहरुको जिविकोपार्जन सुधार कार्यक्रमको लागि ४० वटा भैंसीका पाडा पाडी वितरण तथा गोठ व्यबस्थापन कार्यम संचालन गरिएको
७. वाख्रा प्रबर्दन कार्यक्रम (तेमाल ३ र ५) संचालनमा रहेको (३ नं का २ वटा सहककारीले कार्य सम्पन्न गरेका)
८. १५०० वटा गाई भैंसीमा लम्पी स्किन रोगको उपचार गरिएको
९. ३३०० पशुमा खोरेत, १५०० मा भ्यागुते चर्चरे र १२००० भेडा बाखामा पि पि आर रोग बिरुद्द खोप र्यक्रम संचालन गरिएको
१०. जिल्ला सहकारी संघको समन्वयमा सहकारीहरुलाई अभिमुखिकरण कार्यक्रम संचालन गरिएको
११. तेमाल २,३,६ र ९ नं वडामा पशु स्वास्थ्य शिबिर संचालन गरि नि शुल्क पशु उपचार, औषधी बितरण, पशु वन्ध्याकरण कार्यक्रम संचालन गरिएको
१२.तेमाल ९ मा रहेका कृषक समूहहरुलाई लेखा तथा व्यबस्थापन तालिम सञ्चालन गरिएको
१३. रेविज रोग नियन्त्रणकालागि निशुल्क रेबिज खोप कार्यक्रम संचालन गरिएको
१४. तेमाल भित्र संचालनमा रहेका सहकारीका अध्यक्ष र संचालकलाई २ दिने क्षमता अभिवृद्दि तालिम कार्यक्रम संचालन गरिएको
१५.बिभिन्न रोग र किरा नियन्त्रणका लागि किटनाशक तथा ढुसीनाशक बिषादी बितरण गरिएको
सूचना तथा प्रविधि शाखा
कार्यालयमा स्थापित प्रविधिको पूर्वधार, उपकरणहरुको व्यवस्थापन र नियमित राख्न प्राविधि सहयोग प्रदान गरिएको ।
स्थानीय तहको Website, Software, System को नियमित सञ्चालन र अध्यावधिक गर्ने सहि अभिलेख तथा प्रतिवेदन तयार गरिएकोछ ।
स्थानीय तहको आफ्नै Server System, Web Mail, and IP camera को नियमित सञ्चालन गरिएकोछ ।
वन, वातावरण, जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन
वन, वनस्पति, वन्यजन्तु, जैविक विविधता, जलाधार ब्यवस्थापनलाइ समेटने गरी पर्यापर्यटनको विस्तार गरिएकोछ ।
गाउँपालिकामा रहेका १५ सामुदायिक वनमा उपयोग र संरक्षण सहितको वैज्ञानिक वन व्यवस्थापनका अभ्यासहरू प्रारम्भ गरिएकोछ ।
रोजगार सेवा केन्द्रबाट भएको उपलब्धी
रोजगार सेवा केन्द्रबाट आ.व. ०८० । ८१ मा ९० जना वेरोगार व्यक्तिहरुलाई रोजगार प्रदान गरिएको छ ।
यस यस सेवा केन्द्रबाट १ जनाको श्रमः स्वीकृत भएको छ ।
सुशासन तथा संस्थागत विकास (कानूनी व्यवस्था, राजश्व परिचालन, संगठन संरचना, सार्वजानिक निजी साझेदारी एवं समन्वय) भएका उपलब्धी
गाउँपालिकाले ९ वटा ऐन, २ वटा नियमावली र १५ वटा कार्यविधिहरु तर्जुमा गरी कार्यान्वयनमा ल्याएकोछ। मेलमिलापकर्ताहरुको लागी क्षमता अभिबृद्धि (पुनर्ताजगी) तालिम सम्पन्न गरेको छ।
लमिलापकर्ता सम्बन्धि आधारभूत तालिम ४८ घण्टाको सञ्चालन गरेको छ ।
तेमाल गाउँपालिकामा थप २४ जना मेलमिलापकर्ता तयार गरिएको छ।श्री काभ्रेपलाञ्चोक जिल्ला अदालतको उपस्थितिमा “समुदायमा अदालत कार्यक्रम” सञ्चालन गरेको छ।
यस गाउँपालिकाले गत आ.व.२०७९।०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA ) मा ७३.२५ (सड्सट्टि) र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (FRA) मा ६२.५ अंक प्राप्त गरेको छ ।
राजश्व सुधार कार्ययोजनाको कार्यान्वयनबाट आन्तरित राजश्व स्रोतको दायरामा वृध्दि भएकोछ ।