बनेपा । काभ्रेको बनेपामा पहिलोपटक नेत्ररोग विशेषज्ञहरूको अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । रेयुकाई एईको मासुनागा आँखा अस्पतालको आयोजनामा आजदेखि नेत्ररोग विशेषज्ञहरूको अन्र्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नागरिकलाई सहज रुपमा सेवा प्रदान गर्नका लागि अझै पनि स्वास्थ्य क्षेत्रमा ९२ हजार जनशक्ति अपुग रहेको बताउनुभएको छ ।
स्वास्थ्यमन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐनलाई संसोधन गर्नुपर्ने आवश्यक रहेको समेत वताए । मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐनलाई संसोधन नगरे आगामी ५ वर्षभित्र नेपालमा चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थी नै नहुने दाबीसमेत गरे । ऐनभित्र रहेका राम्रा कुरालाई आत्मसात गर्ने र संशोधन गुर्नपर्ने कुरालाई मन्त्री परिषद्मा प्रस्ताव पेश गरेको उनले जानकारी दिए । एक सयदेखि तीन सय शैया सञ्चालन रहेका अस्पताललाई पारामेडिक्स र नर्स तथा तीन सय भन्दा बढी शैया सञ्चालनमा रहेका अस्पताललाई एमबिबिएस डाक्टर पढाउने अनुमति दिने योजना समेत मन्त्रालयले अघि बढाएको उनको भनाई थियो ।
अहिले रहेको ३१ हजार जनशक्ति २०५४ सालमा ब्यवस्था गरेको र जसमा प्रत्यक्ष रुपमा करिब २८ हजार जनशक्तिले मात्रै काम गरिरहेको अवस्थामा त्यसमा सहज बनाउनका लागि अहिले काम भईरहेको उहाँले जानकारी दिनुभयो । मन्त्री बस्नेतले अब कोही पनि गरिब, विपन्न र बेवारिसे मान्छे पैसा नभएकै कारणले उपचार नपाएर मुत्युवरण गर्न नपर्ने र त्यसको जिम्मा राज्यले लिने बताउनुभयो । जसको लागि सरकारी अस्पतालहरुमा केही पूर्वाधार तयार गरिसकेको उहाँको भनाइ थियो ।
सो क्रममा संघीय अस्पतालहरुमा ३० हजार पाँच सय ३० जनरल शैयाहरु निःशुल्क गरिसकेको र बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका प्रदेश अस्पतालहरुले जनरल शैयाहरु निःशुल्क गरिसकेको समेत उहाँले जानकारी दिनुभयो । त्यससंगै पछिल्लो समयमा २५ देखि ३० हजारसम्म जनशक्ति व्यवस्थापन गर्ने तयारी भईरहेको र सामाजिक तथा सामुदायिक अस्पतालले भएको दश प्रतिशत शैया निशुल्क दिने भन्ने व्यवस्था भएकोमा अहिलेसम्म कार्यन्वयन नभएकाले आफु आएपछि त्यो व्यवस्था गरिसकेपछि हजारौं विरामीहरुले उपचार पाईरहेको मन्त्रीको दाबी छ । त्यसको लागि भएका अस्पतालहरुमा नभई नहुने जनशक्ति, भवन र उपकरणहरु नपुगेको अवस्थामा सहयोगी निकायहरुसंग समन्वय गरेर पूरा गरेरै छाड्ने बताउनुभयो ।
यसैबीच मन्त्री बस्नेतले सही विचार र दृष्टिकोण भएको नेतृत्व पाएमा हरेक कुरा सम्भव हुन्छ भन्ने उदाहरण रेयुकाई एईको मासुनागा अस्पताल बनेको बताउँदै जसका कारण विगतमा नाङ्गो रहेको डाँडामा दृष्टिकोण लगाएर गरेको कामको परिणाम अहिले डाक्टर, विशेषज्ञहरु, प्रोफेसर, समाजसेवी, राजनीतिज्ञहरु र पर्यटकहरु कुदिरहेको ठाउँ बनेको बताउनुभयो । राष्ट्रियस्तरदेखि अन्तर्राष्ट्रिय स्तरसम्मका संघ संस्थाहरुको सहयोगबाट आशालाग्दो र भरोसायोग्य अस्पताल बनाउन सफल नेतृत्वसहितको टीमले काभ्रे जिल्लालाई मात्रै नभएर सिंगो देशलाई नै काँचुली फेर्ने काम गरिरहेको बताउनुभयो । जसको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभएको छ ।
अस्पतालका लागि सहयोग गर्दै आएका अमेरिकामा रहेको संस्था डुली इन्टरमेड ईन्टरनेशनल संस्थाका अध्यक्ष स्कट ह्यामिल्टनले मानव बन्नका लागि आँखाको ज्योती महत्वपूर्ण रहेको उल्लेख गर्दै दृष्टिविहीनहरुको समस्यालाई नजिकबाट हेरेर त्यसको लागि आँखाका डाक्टर र अस्पतालहरु बनाउन सहयोग गर्दै आएको बताउनुभयो । सबैको साथ सहयोगबाट नै अन्धोपन निवारण गर्न सकिने भएकाले सबैको हातेमालो आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।
अस्पताल स्थापना कालदेखि सहयोग गर्दै आईरहनुभएका विपी कोईराला लायन्स नेत्र अध्ययन केन्द्रका कार्यकारी निर्देशक प्रा.डा सगुन जोशीले १६ बर्ष अगाडी बनेपा बजारको एउटा सानो कोठाबाट विना उपकरण सुरुवात गरेको आँखा उपचार सेवा सुविधा सम्पन्न भवनबाट उपकरणसहितले उपचार गर्ने अवस्थासम्म ल्याउन सक्नु खुशीको कुरा भएको बताउनुभयो । अहिले बनेको भवन बनाउन लाग्ने वेलामा धुलो र फुस्रो माटो भएको नाङ्गो डाँडामा कसरी अस्पताल भवन निर्माण गर्ने भन्ने अत्याश लाग्दो देखिएकोमा आज बनेर सेवा प्रदान गर्न सक्नु सामूहिक शक्तिको उदाहरण बनेको बताउनुभयो ।
अस्पतालका संरक्षक हिरोको मासुनागाले जापानबाट सन्देश पठाएर आँखा अस्पतालको आयोजनामा हुन लागेको नेत्र विशेषज्ञ सम्मेलनको सफलताको शुभकाना ब्यक्त गर्दै नयाँ सेवा विस्तारको लागि निर्माण गरेको ओपिडी ब्लक उद्घाटन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष मधु आचार्यले सामाजिक क्षेत्रमा लाग्ने व्यक्तिहरुका लागि अत्यन्तै खुशि र हर्षको अवसर प्राप्त गर्न संस्थाले नयाँ बाटोको यात्रा तय गर्ने बताउनुभयो । सन् २००७ मा साप्ताहिक क्लिनिकको रुपमा बनेपा बजारमा रहेको एउटा कोठाबाट सुरु गरेको सेवा अहिले काभ्रेजिल्लाको मात्रै नभएर आसपासका जिल्लाका नागरिकलाई सेवा दिन सफल भएको बताउँदै बनेपा र ढल्केवरमा रहेको आँखा अस्पतालबाट सबैखाले सेवाहरु दिदै आएको बताउनुभयो । सिन्धुपाल्चोक, धनुषा, भकुण्डेबेशीमा आँखा उपचार केन्द्र स्थापना गरेर सेवा दिईरहेको र छिट्टै धरानमा सेवा केन्द्र विस्तार गर्न लागेको उहाँले बताउनुभयो । विरामीहरुले पत्याएर ठुलो संस्थामा उपचार गर्नै आउने भएकै कारण भएको भवनबाट मात्रै सेवा दिन नपुगेर नयाँ ब्लक निर्माण गरि सेवा प्रदान गरेको उहाँको भनाई छ । कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक गौतम, बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्य लगायतले अस्पवतालले पु¥याएको सेवाको बारेमा चर्चा गर्नुभएको थियो ।
सो क्रममा दश बर्ष भन्दा बढी समयसम्म अस्पतालमा रहेर काम गरिरहनुभएका हरिहर कोईराला, रविन्द्र अधिकारी, विना कुमारी थापा, शोभा आचार्य र नविना मानन्धरलाई योगदान पदक प्रदान गरेको छ । त्यस्तै अन्धोपन निवारणका लागि मोति विन्दु न्युनिकरण अभियान निःशुल्क रुपमा सञ्चालन गर्न अस्पतालसंग सम्झौता गर्ने काभ्रेपलाञ्चोकका बनेपा, पनौती, नमोबुद्ध, पाँचखाल नगरपालिका, रोशी गाउँपालिका, सिन्धुपाल्चोकका बलेफी र सुनकोशी गाउँपालिका, धुलिखेल वडा नं. ८ को कार्यालय, महोत्तरीका गौशाला नगरपालिका, धनुषाका कमला, क्षिरेश्वर र मिथिला विहारी नगरपालिका, मुखियापट्टी गाउँपालिका लगायतलाई सम्मानपत्रद्धारा सम्मान गरिएको छ ।
आजबाट सुरु भएको नेत्र रोग विशेषज्ञहरुको सम्मेलनमा अमेरिका र नेपालका करिब १५० विशेषज्ञको उपस्थिती रहनेछ । सम्मेलनकै अवसर पारेर आँखा अस्पतालमा नवनिर्मित ओपिडी ब्लकको उद्घाटनसमेत गरिएको छ ।