धुलिखेल।समयमा नै काम नगरेर निर्माण व्यवसायीले ‘अलपत्र’ पारेको अरनिको राजमार्गको धुलिखेल–खावा सडक खण्डको संघीय संसदको पूर्वाधार विकास समितिले अनुगमन गरेको छ । समितिका सदस्य शंकरप्रसाद भण्डारीको संयोजकत्वमा सांसदहरुको टोलीले बाटो अनुगन गरी सरोकारवालासंग छलफल समेत गरेको हो ।
अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकखण्डको निर्माणको काम सुस्त भएको र निर्माण कम्पनीको लापर्वाहीको कारण सो सडक प्रयोगकर्ता र स्थानीय नागरिकले दुःख पाएको विषयको सम्बोधन गर्न आफुहरु अनुगमनमा आएको सांसद शंकर भण्डारीले बताउनु भयो।
काभ्रेलाञ्चोकको धुलिखेलदेखि खावासम्मको चार किलोमिटर सडक निर्माणको ठेक्का पाएको गौरी पार्वती निर्माण कम्पनीले तोकिएको समयसिमा सकिएपनि राम्रोसंग काम नगरेको कारण नागरिकले हैरानी खेप्नुपरेको भन्दै समस्याको सम्बोधन गर्न जनप्रतिनिधि र नागरिकस्तरबाट आवाज उठेपछि पूर्वाधार विकास समितिको टोलीले अनुगमन गरेको बताए ।
सो क्रममा समितिका सदस्य शंखर भण्डारीले नागरिक र जनप्रनिधिस्तरबाट आएको आवाज दुःख धेरै खेप्नुपरेपछिको पीडाको आवाज भएको भन्दै समितिले आवश्यक कदम चाल्ने बताउनुभएको छ । ‘लामो समयदेखि बाटोका कारणले यहाँका नागरिकले धेरै समस्या खेप्नु परेकोेदेखि घाईते र मृत्युवरणसम्म व्यहोर्नु परेको दुःखद् कुराहरु सञ्चारमाध्यमले प्रकाशन गरिरहेको र यही जनगुनासो सुनेर संसदको पूर्वाधार विकास समितिले जनताको पीडा, वेदना र आक्रोस बुझ्न प्रत्यक्ष रुपमा स्थलगत नै गएर हेरौं भनेर हामी यहाँ आएका हौं,’ उहाँले भन्नुभयो, ‘तपाईहरुकै भावना बुझेर नै हामी आएको र नागरिकबाट आएको आवाजको सम्मान गर्दै जनप्रतिनिधि र नागरिकस्तरमा भएको छलफलको विषयलाई लिएर समितिको छलफलपछि भौतिक पूर्वाधार विकास मन्त्रीलगायतको उपस्थितिमा थप छलफल गरेपछि आवश्यक कदम चाल्नेछौं ।’
सो क्रममा उहाँले तत्काल भएको उपकरणहरु परिचालन गरेर खाल्डाहरु पुर्न निर्देशन दिनुभएको छ । त्यसको लागि सडक विभाग, सडक डिभिजन र निर्माण व्यवसायीसंगको समन्वयमा उक्त कार्य गर्न उहाँले निर्देशन दिनुभएको हो ।
छलफलको क्रममा समितिका सदस्य माधव सापकोटाले निर्माण कम्पनीले काम नगरेको पाएकै कारण सम्झौता भएको मिति सकिनुभन्दा पन्ध्र दिन अगाडि नै सडक विभागलाई सो कार्यको बारेमा आवश्यक छलफल र प्रक्रिया पु¥याएर काम नगर्नेलाई ठेक्का तोडेर नयाँ ठेक्का आह्वान गर्न समितिले निर्देशन दिएको भएपनि त्यसको कार्यान्वयन नभएको बताउनुभयो । सो क्रममा उहाँले विगतमा दिएको निर्देशनको किन पालना नभएको भन्दै अब त्यसतर्फ ध्यान दिन विभागलाई आग्रह गर्नुभयो ।
समितिका अर्का सदस्य ठाकुर प्रसाद गैरेले अनुगमनपछि बस्ने समितिको बैठकले थप प्रस्ट निर्देशन दिने बताउनुभयो । सो क्रममा उहाँले निर्देशन दिन मात्रै नभएर के भईरहेको छ भनेर निरन्तर रुपमा समितिले जानकारी लिईरहने बताउनुभयो । अहिलेकै अवस्थामा सम्झौता सकेको दूई सय दिन भित्रमा पनि काम सकिने अवस्था नदेखिएकोले अब त्यो समय सकेपछि सडक डिभिजनले के गर्छ ? र अरु सरोकारवालाहरुको समेत सुझावलाई सुनेर सम्बन्धीत निकायसंग सल्लाह लिएर काम अगाडी बढाउने गरी सोच्ने बताउनुभयो ।
त्यस्तै समितिका अर्का सदस्य सुशीला श्रेष्ठले समय थपिदै जाने र काम पनि नहुने अवस्थाले अनियमिततालाई प्रश्रय दिने जस्तो भएको कारण अब त्यस्तो गर्न नहुने धारणा राख्नुभयो । यस्तो कार्य देशैभरि भएकोले काम नगर्ने कम्पनीलाई समय थप्ने नभएर कार्वाही गर्नुपर्नेमा जोड दिनुभयो । नियम अनुसार नचलेकै कारणले नागरिकले दुःख पाएको अवस्था रहेको टोलीले जनाएको छ ।
काभ्रेपलाञ्चोकका जिल्ला समन्वय समिति प्रमुख दिपक कुमार गौतमले यसअघि पटक÷पटक आवाज उठाउनेदेखि सरोकारवालाहरुसंग समन्वय गरेर कामलाई अगाडी बढाउन प्रयत्न गरिरहेको भएपनि निर्माण कम्पनीले कुनै जाँगर नदेखाएको कारण नागरिकले समस्या झेल्नुपरेको बताउनुभयो । अहिले पछिल्लो समयमा पानी परेर थप समस्या निम्तिेपछि एक हप्ता अगाडीदेखि सडकसंग सम्बन्धीत मान्छे कोही नभएको अवस्थामा प्रहरी र ट्राफिक प्रहरीको बलबुतामा मात्रै सडक सुचारु गर्ने काम भईरहेको र पछिल्लो पाँच दिनदेखि ठूला मालबाहक सवारीसाधन चल्न रोक लगाएर खाल्डाखुल्टी पुर्ने र आवातजावतमा समस्या हुन नदिन प्रयत्न भईरहेको बताउनुभयो । समयमा सडक नबनेको कारण सयौं यात्रुहरु घाईते भएको, कतिले अंंगभंग हुनुपरेको र चार जनाले ज्यान नै गुमाउनु परेको अवस्था सिर्जना भएको भन्दै सडक निर्माणको कामलाई समयमा नै अगाडी बढाउन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।
धुलिखेल वडा नं ८ का अध्यक्ष विनोद गौतमले डेढ बर्ष पहल गर्दा पनि सडक बन्न नसकेको भन्दै परिणामुखी बनाउन सबैले भूमिका खेल्नुपर्ने बताए । पाँचखाल वडा नं ५ का अध्यक्ष सिताराम ढुंगानाले सडकको दुरावस्थाका कारण सबै भन्दा बढि आलोचित स्थानीय जनप्रतिनिधी हुनुपरेको बताए ।
जवाफमा सडक विभागका महानिर्देशक रामहरी पोखरेलले ठेक्का रद्ध गर्दा कानूनी जटिलता आउन सक्ने भएकै कारण २ सय दिनको कार्ययोजना बनाएर काम गर्न लगाइएको भन्दै तोकिएको समयमा काम गर्न नगरे ठेक्का रद्ध गर्नुको विकल्प नभएको बताए । उनले ठेक्का रद्ध भएपनि मर्मतको काम सडक विभागले गर्ने प्रतिवद्धता जनाए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख बसुन्धरा खड्काले सडक समयमा नै नबन्दा नागरिकको सुरक्षामा खट्नुपर्ने प्रहरी जनशक्तिलाई धुलिखेल–खावा सडकको चार किलो मिटर खण्डमा नै सवारीसाधन पास गर्न आवश्यक भूमिका खेल्नमा नै खटाईरहनु पर्ने अवस्था रहेको बताउनुभयो ।
सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख मेघराज मरासिनीले सम्झौता गरेको साँढे दूई वर्षदेखि गौरी पार्वती निर्माण सेवाको जिम्मामा रहेको र गरेको काममा आवश्यक समन्वय गरिरहेको बताउनुभयो । तर समयमा काम नगरेको कारण अहिलेको समस्या निम्तेको उहाँले बताउनुभयो ।
गौरी पार्वती निर्माण सेवा प्रालिका प्रतिनिधि भरत थापाले भने अनुसारको काम नभएको स्वीकार गर्दै यसअघि जिल्ला समन्वय समिति काभ्रेकाे समन्वयमा भएको छलफल अनुसार काम गरेपनि त्यसको उचित परिणाम दिन नसकेको उहाँले बताउनुभयो । अझै पनि मौसमले साथ दिएमा आगामि चैतसम्ममा काम सम्पन्न गर्न सकिने बताउनुभयो ।
सडक विभागका महादिर्नेशक रामहरी पोख्रेलले काम नगरेकोलाई कार्वाही गर्न र ठेक्का तोड्न कानुन नै त्यस्तै भएको कारण त्यसतर्फ प्रक्रिया अगाडी बढाउन नसकेको भन्दै कानुनलाई उचित तरिकाको बनाउन समितिलाई आग्रह गर्नुभयो ।
छलफलमा पाँचखाल नगरपालिका प्रमुख महेश खरेल, धुलिखेल नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष विनोद गौतम, पाँचखाल नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष सिताराम ढुंगाना र स्थानीय नागरिकहरुले सकड नबन्दा खेप्नुपरेको समसइा र पीडालाई कसले सम्बोधन गर्ने भन्दै समितिलाई तत्काल सडक निर्माणमा तिब्रता दिएर आवातजावतमा सहज बनाउन आग्रह गरेका छन् ।
सडक निर्माणले गति नलिएको भन्दै समयमा नै निर्माण सक्न दबाब दिन भन्दै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले २०८० फागुन ११ गते अनसन समेत बसेका थिए ।
दोलखा, रामेछाप, सिन्धुपाल्चोका साथै छिमेकी चीनसम्म जोड्ने अन्तराष्ट्रिय महत्वको राजमार्गको अवस्थाका कारण सवारी दुर्घटना भइ यात्रुहरु घाइते हुने र मृत्युको जोखिम समेत बढेको भन्दै यथासिघ्र निर्माण सम्पन्न गराउन भन्दै धुलिखेल ८ र पाँचखाल वडा नं ५ का जनताका प्रतिनिधीको तर्फबाट तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाइएको थियो । सरोकारवालासंगको छलफलमा पटक–पटक समयमा नै काम सकाउने प्रतिवद्धता जनाएपनि निर्माण व्यवसायीले कामलाई गति नदिएको भन्दै समिति समक्ष आक्रोस पोखेका थिए।