बनेपा । बनेपा ब्वाईज क्लव(बिबिसि)को आयोजनामा अशोक १९ गतेदेखि सञ्चालन भइरहेको ‘बनेपा महोत्सव २०८०’ आज सम्पन्न भएको छ ।
खेलकुद क्षेत्रमा क्रियाशिल क्लबले खेल क्षेत्रमा लागिरहने खेलाडीहरुको हितमा काम गर्न कोष बृद्धि गर्ने उद्देश्यले दशैं पर्वलाई लक्षित गरी आयोजना गरेको काभ्रेको बनेपास्थित उग्रेश्वर महादेव मन्दिर परिसरमा सञ्चालन भएको बनेपा महोत्वसमा विभिन्न व्यावसायिक बजार सञ्चालन गर्नुका साथै धिमेबाजा प्रतियोगिता, मार्सलआर्ट, रेस्लिङ, नृत्य, गायन र फुटबल प्रतियोगिताका साथै सांस्कृतिक कार्यक्रम मुख्य आकर्षण केन्द्र रहेको थियो ।
जिल्लाव्यापी विविसी आईटिएफ तेक्वान्दो प्रतियोगिताको खेल र प्यानलतर्फको प्रतिस्पर्धामा महिला र पुरुष समूहतर्फ विभिन्न तौलसमूहमा पहिलो, दोस्रो र तेस्रो हुन सफल खेलाडीहरुलाई प्रमाणपत्र र मेडल वितरण गरेको छ । २८ वटा स्वर्ण पदकमध्ये काभ्रे आईटीएफ तेक्वान्दो एकेडेमीले १४ स्वर्ण पदक प्राप्त गरी प्रथम भएको छ ।
फुटबल खेलको प्रतिस्पर्धामा धुलिखेल क्लव(बी) धुलिखेल पहिलो, पनौती फुटबल क्लव(बी) पनौती दोस्रो र धुलिखेल फुटबल क्लव धुलिखेल तेस्रो भएका छन् । विजयी समूलाई नगद, प्रमाणपत्र र ट्रफी वितरण गरेको छ ।
त्यस्तै नृत्यमा आरती श्रेष्ठ प्रथम र साकुरा बञ्जारा दोस्रो भएको छ । त्यस्तै विविसि सिङ्गीङ आईडल गायन प्रतियोगितामा सलिन थापा पहिलो, विजय सुवाल दोस्रो र राजगोपाल श्रेष्ठ तेस्रो हुनुभएको छ । प्रथम हुनुभएका थापाले अपडेट म्युजिक स्टुडियोबाट नि:शुल्क रुपमा गीत रेकर्डिङ गर्ने अवसर प्राप्त गरेको आयोजकले जनाएको छ ।
त्यस्तै धिमेबाजा प्रतियोगितामा कोशादाखा भजन खःल पहिलो, वांखा भजन खःल दोस्रो र नासा धिमेबाजा खल: साँगा तेस्रो हुन सफल भएको छ । प्रतियोगितामा दश वटा भजन समूहले प्रतिस्पर्धा गरेका थिए । सो क्रममा प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने समूह तथा व्यक्तिलाई आयोजकले पुरस्कार वितरण गरेको छ ।
समापन कार्यक्रममा बोल्नुहुँदै जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक गौतमले यस पटक सिकेको अनुभवले अर्को पटकको लागि अझ राम्रो गर्न बल पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले महोत्सवले जिल्लामा हुने विभिन्न खाले प्रतिभाहरुका खोजी र सम्मान गरेको भन्दै त्यसले आम जिल्लाबासिन्दामा सकारात्मक सन्देश दिएको बताउनुभयो ।
बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहालले लामो सयमसम्म सञ्चालन गरेको महोत्सवले बनेपालाई थप प्रचार गर्न बल पुगेको बताउँदै महोत्सवमा भएको विभिन्न विधाका प्रतियोगिताले आ–आफ्नो विधामा थप प्रगती गर्नका लागि युवाहरुमा नयाँ सन्देश प्रवाह गर्न सफल भएको बताउनुभयो ।
सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेलाको रुपमा चिनेको महोत्सवमा राष्ट्रिय कलाकारहरुको उपस्थितिमा बेजोड सांस्कृतिक कार्यक्रमले थप उत्सवमय बनेको थियो । महोत्सवले बनेपामा आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला प्रवद्र्धन र खेलकुदको विकासमा टेवा पुगेको आयोजक बनेपा ब्वाईज क्लवका अध्यक्ष महेश कुमार कर्माचार्यले बताउनुभयो ।