काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले माघ २८ र २९ गते बस्ने केन्द्रीय कमिटी बैठकका लागि प्रतिनिधिसभाको बैठक सार्न आग्रह गरेपछि माघ २६ गते बस्ने फागुन २ गतेसम्मका लागि स्थगित भएको छ । केन्द्रीय कमिटी बैठकले एमसिसीबारे छलफल गर्ने भन्दै प्रतिनिधिसभा बैठक सार्न माओवादी केन्द्रले प्रस्ताव गरेको हो।
आफूहरूकै आग्रहमा प्रतिनिधिसभा बैठक सारिएको माओवादीका एक नेताले बताए। ‘हाम्रो केन्द्रीय कमिटी बैठकले एमसिसीबारे छलफल गर्छ। त्यसपछि हामीले यसबारेमा ठोस निर्णय गर्छौं, ती नेताले भने, ‘पार्टी अध्यक्षले एमसिसीलाई पत्र लेखेको विषयमा पनि छलफल हुन्छ। त्यसकै लागि प्रतिनिधिसभा बैठक पनि सारिएको छ ।
एमसिसीलाई पत्र लेखिएको विषयले माओवादीभित्रै प्रचण्डको आलोचना भएको छ। यसरी पत्र लेख्दा प्रचण्डलाई अस्थिर नेताको आरोप लागेको कतिपय नेताहरूले बताएका छन् । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनले एमसिसीलाई परिमार्जन नगरी पारित गर्न नहुने निर्णय गरेको थियो । महाधिवेशनले पारित गरेको निर्णयलाई केन्द्रीय कमिटीले खारेज गर्न नसक्ने आवाज माओवादीमा उठेको छ।
माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले परिमार्जन नभइकन एमसिसी पारित गर्न सम्भव नरहेको बताए। उनले आफूहरूको कारण संसद बैठक स्थगित नभएको दाबी गरे।
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखेको पत्रलाई पारित गर्नका लागि प्रतिवद्धता जनाएको भनेर बुझ्न नहुने उनको भनाइ छ।
‘पत्रमा पारित गर्नका लागि समय मागिएको हो। त्यसैले, यसलाई प्रतिवद्धताको रूपमा बुझ्न हुँदैन। पत्र लेख्दा कूटनीतिक मर्यादालाई ध्यान नदिएर गलत काम भने भएको छ, उनले भने, ‘सहसचिवस्तरबाट लेखिनुपर्ने पत्र प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीबाट लेखिएको छ। अर्कोतिर पत्रलाई न त सरकारको भनेर बुझ्न सकिन्छ न त गठबन्धनको भनेर बुझ्न सकिन्छ।
सत्ता साझेदार अर्काे दल नेकपा एकीकृत समाजवादी पनि परिमार्जन नभई एमसिसी पारित गर्न नहुने पक्षमा छ।