बनेपा। जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले सवारीचालक तथा सहचालकको स्वास्थ्य परीक्षणका साथै सवारी साधनको यान्त्रिक परीक्षण सञ्चालन गरेको छ।
दशैंमा गाउँ फर्कने यात्रुहरुको चापले सडकमा सवारी साधन गुड्नेको संख्या बढ्दै गईरहेको बेला जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोकले जिल्लाका अरनिको राजमार्ग र विपि राजमार्गमा गुड्ने सवारी साधनका चालक, सहचालकको स्वास्थ्य परिक्षण तथा सवारी साधनको अवस्था परीक्षण गर्दै गन्तब्यतर्फ पठाउने गरेको हो ।
चाडपर्वमा हुने सवारी दुर्घटना न्यूनिकरणका लागि सवारीचालक र सहचालक तथा सवारी साधनको यान्त्रिक परीक्षणको कामलाई महत्वका साथ अगाडि बढाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोकका प्रमुख विकास कुमार तामाङले बताउनुभयो । सवारी दुर्घटना न्युनिकरण र रोकथामका लागि सवारी चालक तथा सहचालकको स्वास्थ्य परीक्षण महत्वपूर्ण भएकाले जिल्ला प्रहरी कार्यालय धुलिखेलको समन्वयमा बनेपा हेल्थ केयर प्रा.लि. र रेयूकाई एईको मासुनागा आँखा अस्पताल बनेपाको सहयोगमा विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरेको उहाँले बताउनुभयो । ‘चालक स्वस्थ भयो भनेमात्रै सुरक्षित यात्रा र सुरक्षित गन्तब्य हुन्छ भन्ने मान्यताका साथ हामीले चालक, सहचालकको स्वास्थ्य परीक्षण साथै यान्त्रिक परीक्षणलाई जोड दिएका छौं’ -उहाँले भन्नुभयो । चाडपर्वको वेलामा जिल्लास्थित दूई ठूला राजमार्गमा सवारी चापको अवस्थालाई ध्यानमा राखी स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरेको उहाँको भनाई छ ।
त्यस्तै मंगलवार चाडपर्व लक्षित बनेपा पुलबजारमा सवारी साधनको यान्त्रिक परीक्षण गरेको जनाएको छ । सो क्रममा साना ठूला गरी ५२ वटा सवारी साधनको यान्त्रिक परीक्षण गराइएकोमा १२ वटाको अवस्था ठीक नभएको पाएपछि आवश्यक मर्मतसंभार पछि मात्रै सञ्चालनमा ल्याउन लगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोकको आयोजनामा दशैं, तिहार तथा छठ पर्वको अवसरमा यात्रुहरुलाई गन्तव्य स्थानसम्म सहज आवतजावत गर्न यात्रुहरुको सेवा सुविधा, सुरक्षा तथा सहायताका लागि घटस्थापनाको दिनबाट नागरिक÷यात्रु सहायता कक्ष स्थापना गरेर आवश्यक सेवा प्रदान गर्दै आएको छ । कार्यालय मातहत अस्थायी ट्राफिक प्रहरी पोष्ट साँगा, पाँचखाल, काभ्रेभञ्ज्याङ, धुलिखेल भकुण्डेचोक, धुलिखेल बसपार्क चोक र चारदोबाटो चोक गरी ६ ठाँउमा नागरिक÷यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
यसअघि असोज २ गते विपि राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं. ९ काभ्रेभञ्ज्याङ सडकखण्डमा सवारी दुर्घटना न्युनिकरण एंव रोकथामको लागि गरेको स्वास्थ्य परीक्षणमा १९१ जनाको स्वास्थ्य परीक्षण गरेको थियो । सो क्रममा ४६ जनामा उच्च रक्तचाप, ६ जनामा मधुमेह र १० जनामा आँखा सम्बन्धी समस्या भएको पाएकामा थप स्वास्थ्य परीक्षण पश्चात मात्रै सवारी साधन चलाउन सचेत गराएको जिल्ला ट्राफिक प्रहरी प्रमुख तामाङले बताउनुभयो ।