काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गरेको निर्णयप्रति नेकपा माओवादी केन्द्रले आपत्ति जनाउँदै भर्त्सना गरेको छ।
शुक्रबार साँझ कार्कीले पद तथा गोपनीयताको शपथ लिने तयारी भइरहेका बेला माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको थियो। भर्चुअल माध्यममार्फत बसेको बैठकले राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी अन्तरिम सरकार गठन गर्ने प्रक्रिया संविधान र लोकतान्त्रिक मूल्य–मान्यताको उल्लङ्घन भएको निष्कर्ष निकालेको छ।
बैठकपछि निर्णय सार्वजनिक गर्दै सचिव देवन्द्र पौडेलले भने, “जनताको सर्वोच्च संस्था प्रतिनिधिसभा विघटन गरेर संविधान, विधिको शासन र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत अन्तरिम सरकार प्रमुख नियुक्त गरिएकोमा हाम्रो पार्टी घोर भर्त्सना गर्दछ। यस विरुद्ध सम्पूर्ण जनतालाई विरोधमा उभिन आह्वान गर्दछौँ।”