नेकपा (एकीकृत समाजवादी)का काभ्रेका अध्यक्ष बसुन्धरा हुमागाईं,
दिनेशराज खरेल
उनी नेकपा एमालेको तर्फबाट २०७४ सालको निर्वाचनमा प्रदेश सभा सांसदमा निर्वाचित भएका थिए । केपी ओलीको निरंकुशताविरुद्ध पार्टीमा विद्रोह गरेपछि उनी माधव नेपाल नेतृत्वमा गठित नेकपा(एकीकृत समाजवादी)मा छन् । उनै हुमागाई काभ्रे जिल्ला कमिटीको अध्यक्ष भएपछि गरिएको कुराकानीको सम्पादित अंश।
नेकपा(एकीकृत समाजवादी)काभ्रेको अध्यक्ष हुनुभएको छ । तपाईं अध्यक्ष हुने पहिले नै तय भएको थियो कि?
काभ्रेका निवर्तमान अध्यक्ष टोकबहादुर वाइवा पार्टीमा विद्रोह हुनुभन्दा अघि नै एमालेको महाधिवेशनबाट अध्यक्ष हुनुभएको हो, पछि एकीकृत समाजवादी पार्टी गठन भए पश्चात पनि उहाँकै नेतृत्वमा पार्टीले निरन्तरता पाएको थियो। उहाँ निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ र पार्टीका अन्य जिम्मेवारीमा पनि रहनुभएको छ। विभिन्न गतिविधिमा सक्रिय हुनुपर्ने भएकाले उहाँको व्यस्तता रहेको छ। पार्टी स्थापना दिवसको अवसरमा हामीले नयाँ नेतृत्व चयन गरेका हौ। नयाँ जिल्ला कमिटीमा उपाध्यक्षलाई अध्यक्ष र सचिवलाई उपाध्यक्ष निरन्तरता दिइएको हौ । सचिव र उपसचिव चयन भइसकेका छन् । बाँकी पदाधिकारीहरु पछि पूर्णता दिइने छ।
नयाँ चयन भएको जिल्ला कमिटीले पार्टीलाई चलायमान बनाउन के–कस्तो कार्य गर्नेछ ?
हाम्रो पाटी निर्माण भएको एक वर्ष मात्र भएको छ । हामीले काभ्रेमा पार्टी निर्माणको कामलाई तीव्रता दिएका छौ । स्थानीय तहको निर्वाचन परिणामबाट पनि सन्तोषजनक स्थिति रहेको देखिन्छ। आगामी दिनमा हामी भातृसंगठनहरु पुर्नगठनको कार्य अगाडि बढाउने छौ। हाम्रो नेतृत्वले पार्टीलाई चलायमान बनाउने छ, पार्टी गतिविधिहरु बढ्नेछन्। जिल्ला, गाउँ, नगर, वडा र टोल कमिटीको गठन प्रक्रियाले पूर्णता पाउने छ । कार्यकर्तालाई उत्साहित बनाउँदै नयाँ कार्यनीति बनाउने छौं । मंसिर ४ को निर्वाचन हाम्रो मुख्य प्राथमिकतामा रहने छ । आगामी दिनमा काभ्रेमा समाजवादीको लालकिल्ला बनाउने प्रतिज्ञा गर्दछु।
आसन्न मंसिर ४ को निर्वाचनमा गठबंधन हुन्छ कि हुँदैन ?
मंसिरको निर्वाचनमा गठबंधन हुन्छ। गठबंधन केन्द्रकै निर्णय हो , यसलाई हामीले तलमाथि गर्न मिल्दैन । हामी केन्द्रीय निर्देशनको अनुशरण गरेर जान्छौं । गठबन्धनबाटै चुनाव लड्ने हो। चुनावका लागि गठबन्धनको अन्य विकल्प छैन। प्रतिगामी तत्वलाई परास्त गर्नका लागि पनि गठबन्धनको आवश्यकता महसुस गरिएको छ।
गठबन्धनको लक्ष्य, विगतमा गठबन्धनबाट प्राप्त परिणाम र अनुभव पनि बताइदिनुस् न ?
मुख्यरुपमा गठबन्धनको लक्ष्य भनेको संविधान, लोकतन्त्र र संघीयताको रक्षा हो। ओलीको प्रतिगमनका विरुद्ध उभिएको दरिलो खम्बा गठबन्ंधन नै हो। गठबन्ंधन नभएको भए जनताले प्राप्त गरेको प्रत्यक्ष जनप्रतिनिधि छान्ने अवसर गुमिसकेको हुनेथियो । यो कुरामा सारा जगतलाई अवगत नै छ। गठबन्धनबाट के प्राप्त भयो भन्ने प्रश्न पनि छ । जेजस्ता अवसर र उपलब्धि प्राप्त भयो एकीकृत समाजवादीका लागि त्यो स्वीकार्य छ किनभने हामी संक्रमणकालीन अवस्थाबाट आएका हौ, हाम्रो शक्ति क्षीण भएको अवस्था थियो। स्थानीय तहको निर्वाचनबाट हामीले दरिने मौका पाएका छौं, कहीँ कतै गुमायौं होला यसको मूल्यांकन र समीक्षा समयसँग हुँदै जानेछ।
गठबन्धनबाट निर्वाचन लड्दा तपाईंहरूको चुनावी मुद्दा के के रहन्छन् ?
चुनाबी मुद्दाहरु समग्र चर्चामा आईरहने विषय नै हुन्छन् ।जस्तै शिक्षा, स्वास्थ्य ,रोजगार र सुशासन आगामी चुनावका मुख्य मुद्धा हुन् । यिनै विषयलाई प्रधान बनाएर हामी निर्वाचनमा जान्छौं । कसरी जनताको आय आर्जनका स्रोत बढाउने, रोजगारी सिर्जना हुने, आधुनिक र व्यवसायिक बनाउने भन्ने विषय नै महत्वपूर्ण रहन्छ ।लगभग गठबंधन पार्टीहरु र हाम्रो पार्टीको एजेण्डा उस्तै हुन् । निर्वाचनमा जाँदा एउटै मुद्दा लिएर जाने हो । गठबन्धनले र हामीले गर्ने चुनाबी प्रतिबद्धता पनि एउटै हुन्छन् । यो त सबै मिलेर पूरा गर्ने हो, चुनावमा उठाएका मुद्दाहरु पूरा गर्न हामी तदारुकताका साथ लागिपर्ने छौं।
काभ्रेमा नेकपा एकीकृत समाजवादीको संघीय र प्रदेशको निर्वाचन क्षेत्र मध्ये कुन पदमा दाबी रहला र सहमतिको सम्भावना कस्तो देखिन्छ ?
हामी हाम्रो जिल्लामा सम्मानजनक हक दाबी गर्छौं। काभ्रेमा हाम्रो संगठन राम्रो छ । गठबन्धनका साथीहरुसँग अन्य दलहरुलाई पनि मिलाएर लैजाँदा हामीले गठबन्धनमा सोचेजस्तो दाबी हात पर्ने सम्भावना प्रबल देखिन्छ। गठबन्धनबाट हामीलाई अन्याय हुने छैन, किनभने काभ्रेमा गठबन्धनलाई धोका दिने चलखेल भएमा गठबन्धनका अरु साथीहरुले पनि जित्ने सम्भावना न्युन रहन्छ।
तपाईंको निर्वाचन क्षेत्रमा चुनाव जित्ने आधार के छ?
पहिलो त म पार्टीको जिल्ला अध्यक्ष छु । बागमती प्रदेशको सांसद तथा बहालवाला कृषि तथा सहकारी मन्त्री हुँ । म सांसद वा मन्त्री हुँदा सधै जनताको साथमा छु। विकासका योजनाहरु ल्याएको छु, जनताले मलाई काम गरेर देखाउने अब्बल नेता ठानेका छन् । त्यही भएर आगामी निर्वाचनमा मलाई जनताले विश्वास गर्नेछन्, म ढुक्क छु।