समाज/स्वास्थ्य
खानीखोला–३ जुरेमा दोस्रो पटक नि:शुल्क आँखा स्वास्थ्य शिविर आयोजना
२३ पौष २०८२, बुधवार


खानिखोला/खानीखोला गाउँपालिका–३ नम्बर वडा जुरेमा दोस्रो पटक नि:शुल्क आँखा स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। बनेपास्थित रेयुकाई ईको मासुनाग आँखा अस्पतालबाट खटिएको स्वास्थ्यकर्मीहरूको टोलीले शिविर सञ्चालन गर्दै स्थानीय नागरिकहरूलाई आँखा परीक्षण तथा उपचार सेवा प्रदान गरेको हो।
शिविरमा ७२ जना स्थानीय बासिन्दाले आँखा जाँच गराएका थिए। परीक्षणका क्रममा २ जनामा मोतीबिन्दु (क्याटार्याक्ट) देखिएको वडा नम्बर ३ का अध्यक्ष सागर जिम्बाले जानकारी दिनुभयो। उहाँका अनुसार गत वर्ष पनि सोही वडाका २६ जना नागरिकको मोतीबिन्दु शल्यक्रिया रेयुकाई ईको मासुनाग आँखा अस्पतालमा निःशुल्क रूपमा सफलतापूर्वक सम्पन्न गरिएको थियो।
कार्यक्रममा खानीखोला गाउँपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्बा तथा वडा नम्बर ३ का अध्यक्ष सागर जिम्बाको विशेष उपस्थिति रहेको थियो। ग्रामीण क्षेत्रका नागरिकहरूलाई घरदैलोमै सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो शिविर आयोजना गरिएको आयोजक पक्षले जनाएको छ।
शिविरबाट लाभान्वित स्थानीयवासीहरूले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइएकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। स्थानीय तहको समन्वय र पहलमा हुने यस्ता स्वास्थ्य शिविरहरूले ग्रामीण समुदायको स्वास्थ्यस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।