धुलिखेल । सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुई ठूला पार्टी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सत्ता सहकार्यको वर्तमान सरकारबाट मुलुकमा सकारात्मक सन्देश दिएको बताए । वर्तमान सरकार बनेपछि मुलुकमा सकारात्मक सन्देश गएको उनले दावी गरे । काभ्रेपलाञ्चोकको धुलिखेलमा निर्माण गरिएको महामानव विपी कोइरालाको प्रतिमा अनावरण समारोहलाई आज सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
दुई मुख्य पूतिस्पर्धी पार्टी मिल्दा के हुन्छ भन्ने चिन्ता पनि देखिएको थियो, तर मैले थाहा पाएअनुसार देशभरिमा सबैबाट सकारात्मक सन्देश गएको पाएँ”, देउवाले भने । सभापति देउवाले जनताको अपेक्षा भएकोले सरकारले जनताको मन जित्ने गरी काम गर्नुपर्ने बताए ।
‘दुई प्रतिस्पर्धी पार्टी मिल्दा के हुन्छ भन्ने चिन्ता र चासो नागरिकमा छ, झगडा गर्ने दुवै दल मिल्दा आनन्द भएको छ भन्ने पनि छ,’ उनले भने, ‘दुई दल मिल्दा सकरात्मक सन्देश पनि गएको छ, अब काम गरेर देखाउनुपर्छ ।’ मिश्रित निर्वाचन प्रणालीका कारण कुनै एक दललाई बहुमत प्राप्त गर्न कठिन हुन सक्ने भन्दै त्यो चुनौती स्विकार्दै कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउन लाग्नुपर्ने बताए । इतिहास भजाएर मात्र नहुने भन्दै उनले काम गरेर देखाउनुपर्ने बताए ।
पार्टी सभापति देउवाले पार्टीलाई आगामी निर्वाचनमा कम्तीमा पहिलो पार्टी बनाउने गरी मेहनत गरेर जनताको पक्षमा खटिएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । कांग्रेसले कामै गर्दैन, गफ बढी गर्छ, भन्छन् विचार गर्नु । अनि खाइदेला नि अरू पार्टीले । त्यसकारणले कांग्रेसले अरू बढी काम गर्नुपर्यो । जनतासँगको सम्बन्ध बढाउनु पर्यो । जनताको दिल जित्नुपर्यो । जनताको कामहरू गर्नुपर्यो । त्यस कारण जनताको कामहरू हामीले गर्दै जानुपर्दछ ।’ उनले भने ।
जापानी सहयोग नियोग (जाइका) को सहयोगमा निर्माण भएको वी.पी. राजमार्गले कनेक्टिभिटीको लागि राम्रो गरेको भन्दै यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए । वडा, बस्तीसम्म विकास गर्नुपर्ने कांग्रेसको लक्ष्य भएको भन्दै उनले त्यसमा अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिए ।
वी.पी. पुत्र एवं नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, सञ्चार क्षेत्रको विकास कांग्रेसका नीति र नेतृत्वका कारण सम्भव भएको बताए ।
कांग्रेसका पूर्वमहामन्त्री एवं विपीपुत्र डा. कोइरालाले विपी कोइरालालाई पुजेर मात्रै हैन उहाँको आदर्श र पदचाप बुझेर अघि बढ्नुपर्ने बताए । कांग्रेसीजनले विपीको आदर्श बुझेर पदचाप पछ्याउनुपर्छ, प्रजातन्त्र प्राप्तिपछि धेरै उपलब्धी भएका छन्, यसको रक्षार्थ पनि लाग्नुपर्छ ।”
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले कांग्रेसले कांग्रेसलाई भोट हाल्ने हो भने अरु कम्युनिष्टहरु पत्तासाफ हुने बताउनुभयो । पुर्व स्वास्थ्य मन्त्री बस्नेतले विपी कोइरालाको समाजवादको सिद्धान्त अनुसार अस्पतालमा दश प्रतिशत बेड छुट्याउन लगाई गरिव तथा निमुखा वर्गका लागि निःशुल्क उपचारको ब्यवस्था मिलाईएको जानकारी दिनुभयो।
केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले अबका कुनै पनि निर्वाचनमा कांग्रेसका उम्मेदवार बाहेक अरु कोही नजित्ने गरी पार्टीमा मन मिलाउने प्रतिवद्धता व्यक्त गरे । केन्द्रीय सदस्य मधुप्रसाद आचार्यले पछिल्लो पुस्तासम्म वी.पी. विचार लैजानुपर्ने तर्क गरे । केन्द्रीय सदस्य गणेश लामाले कांग्रेसकै चुनाव चिन्हमा भोट हाल्ने, कुनै दलसंग गठबन्धन नगर्ने गरी कांग्रेसको महासमिति बैठकले निर्णय गरेको बताए । नेपाली कांग्रेस वाग्मती प्रदेशका महामन्त्री कञ्चनचन्द्र वादेले कांग्रेस एक नहुँदा विपक्षीले जितेको भन्दै अब एक हुनुपर्ने बताए ।
नेपाली कांग्रेस काभ्रेका सभापति एवं वाग्मती प्रदेशका पूर्व मन्त्री तीर्थ लामाले नेपाली कांग्रेस काभ्रेलाई संगठित र मजबुद बनाउन सबैजना संगठन निर्माणमा लाग्नुपर्ने भन्दै ‘सबैजना’ ३ सय ६५ दिन नै कांग्रेस बन्न आव्हान गरे । उनले काभ्रे कांग्रेस विधीसम्मत चल्ने भन्दै त्यसका लागि सबै लाग्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका उपसभापति रमेशप्रसाद हुमागाई, धुलिखेल नगर उपप्रमुख निराजन जंगम, महासमिति सदस्य जितेन्द्रमान तामाङ (दावा लामा), महाधिवेशन प्रतिनिधि मन्जु शाह ठकुरी, जिल्ला सदस्य सुनिता न्यौपाने बजगाई, नेपाल विद्यार्थी संघ काभ्रेका सभापति अन्जनराज खतिवडा लगायतले नेपाली कांग्रेस काभ्रेलाई एक ढिक्का बनाएर लानुपर्ने विचार राख्नुभयो।
महामानव वी.पी. कोइराला प्रतिमा निर्माण समितिका संयोजक रहेका नेपाली कांग्रेस काभ्रे जिल्ला कार्यसमिति सदस्य एवं धुलिखेल नगर पूर्व सभापति जितकृष्ण श्रेष्ठले सबैको सहयोगको लागि वी.पी राजमार्गको प्रस्थानविन्दुका प्रतिमा राख्ने काम सफल भएको भन्दै सबैमा आभार प्रकट गरे ।
नेपाली कांग्रेस धुलिखेलका सभापति विदुरबहादुर बस्नेतले पर्यटकीय नगरी र पूर्वको प्रस्थान विन्दु धुलिखेलमा रहेको प्रतिमाले यहाँको महत्व र सान्दर्भिकता बढ्ने तर्क गर्दै निर्माण अधुरो भएका कारण सर्वसाधरणले सास्ती पाएको धुलिखेल–खावा सडक निर्माणमा भएको ढिलासुस्तीको कारण पत्ता लगाइ समाधानको लागि सार्थक पहल गर्न पुर्व प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवालाई अनुरोध गरे । कार्यक्रमको संचालन जिल्ला सचिव समिर ब्याञ्जुले गर्नुभएको थियो।
सभापति देउवाले मुर्तिकार राजु तुलाधार र सहयोग गर्ने सबैलाई प्रशंसापत्र प्रदान गरेका थिए ।