काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समाजवादको भ्रुण नेवार समुदायको संस्कृतिमा रहेको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित नेवा राष्ट्रिय मुक्ति मोर्चाको तेश्रो राष्ट्रिय सम्मेलन तथा खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले समाजवादको भ्रुण नेवार समुदायको इतिहासमा, उनीहरुको भाषा, संस्कृति, उत्पादनमा रहेको बताउनुभएको हो । उहाँले नेवार समुदायका संरचनामा नै नेपाली विशेषताको समाजवाद रहेको उल्लेख गर्नुभयो ।
उहाँले नेपालको इतिहासमा आदिवासी जनजातिहरुमध्ये नेवार समुदाय नै अग्रणी भुमिकामा रहेको जिकिर गर्नुभयो । नेवार समुदायको इतिहास अध्ययनबाट मात्रै नेपाली विशेषताको समाजवादको यात्रा आरम्भ गर्न सकिने उहाँको भनाई थियो ।
अध्यक्ष दाहालले भन्नुभयो, ‘समाजवादको भ्रुण नेवार समुदायको इतिहासमा, उनीहरुको भाषा, संस्कृतिमा, उनीहरुको उत्पादन सम्बन्धमा, उनीहरुका गुठी लगायतका विभिन्न खालका संस्था संरचनाहरु जे बनेका छन्, त्यहीँ नेपाली विशेषताको समाजवाद छ । त्यसकारण मैले हाम्रो पार्टीका नेताहरुलाई नेपालको इतिहासमा आदिवासी जनजाति, त्यसमा पनि अग्रणी नेवार समुदाय नै हो भन्ने गरेको छु।
नेवार समुदायको इतिहासको अध्ययनबाट मात्रै, उनीहरुको भाषा, संस्कृतिबारे जानकारी लिएर मात्रै हामीले नेपाली विशेषताको समाजवादको यात्रा आरम्भ गर्न सकिन्छ । त्यसकारण यो सम्मेलनलाई एउटा विशेष शुरुवात, एउटा पहल, नयाँ बाटोतिर अघि बढ्ने पहलको रुपमा मैले लिएको छु । त्यहाँसम्म हामी आइपुगेका छौँ । ’
अध्यक्ष दाहालले सरकारका गलत काम र क्रियाकलापका कारण धमिलो पानीमा माछा मार्ने दुस्साहस गरेको भएपनि सफल नहुने जिकिर गर्नुभयो । उहाँले नेवार समुदायको सम्मेलनले सरकारका गलत क्रियाकलापहरुको बिरुद्ध खबरदारी गर्नुपर्ने र प्रतिगामी षड्यन्त्रका बिरुद्ध चुनौति दिनुपर्ने बताउनु भयो ।
नेवार समुदायका कतिपय माग सम्बोधन गर्न आफ्नो सरकारको पालामा ठूलै सङ्घर्ष गर्नुपरेको थियो”, पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत् मेरै नेतृत्वमा घोषणा भयो । नेपाल भाषालाई सरकारी दस्ताबेजको भाषाका रूपमा प्रयोग गर्ने निर्णय भयो । हाम्रै सल्लाहमा प्रदेश सरकारले नेवारी र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको हो ।”उनले राष्ट्रिय विभूति शंखधर साख्वाको सम्मान र आदर्शलाई पछ्याउँदै गरिब किसानहरुको ३० हजारसम्मको ऋण मिनाह गर्ने निर्णय आफु प्रधानमन्त्री हुँदा गरेको स्मरण गरे । नेवार समुदायको संस्कृति, भाषा, इतिहास, आत्मनिर्णय, पहिचान पूरा स्थापित नभएसम्म माओवादी केन्द्रले नेवार समुदायको साथ नछोड्ने जिकिर गर्नुभयो ।
अध्यक्ष दाहालले यथास्थितिवाद र प्रतिगामी षड्यन्त्रका बिरुद्ध पुनः एक पटक उत्पीडित वर्ग र जाति, समुदाय अघि बढ्नुपर्ने बताउनु भयो । त्यसको लागि माओवादीले पुनः एक पटक देशको नेतृत्व गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।
कार्यक्रमलाई मल्ल के सुन्दर, हितबहादुर तामाङ लगायत वक्ताहरुले पनि शुभकामना मन्तब्य राख्नुभएको थियो।