फिरौती रकम असुल गरी हत्या गरेकाे आराेपमा ५ जना पक्राउ
फिरौती रकम असुल गरी हत्या गरेकाे आराेपमा ५ जना पक्राउ
१७ अशोज २०८१, बिहीबार


धुलिखेल– अपहरण, फिराैती रकम असुल गरी हत्या गरेकाे आराेपमा जिल्ला प्रहरी काभ्रेले १ जना महिला सहित ५ जनालाई पक्राउ गरेकाे छ । काठमाडौँ कीतिपुरका ५० वर्षीय विनोद खड्गीको अपहरण गरी हत्या गरेको अभियोगमा पक्राउ परेका पाँच जनालाई बुधबार जिल्ला प्रहरी कार्यालय, काभ्रेले सार्वजनिक गरेको हाे ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नं. २ घर भई हाल भक्तपुर जिल्ला मध्यपुर ठिमी न.पा. वडा नं. ९ बस्ने वर्ष २१ की मनिषा महत, काठमाण्डौ जिल्ला शंकरापुर नगरपालिका वडा नं. ५ बस्ने वर्ष २२ को सरिन घिमिरे, महोत्तरी जिल्ला गौशला नगरपालिका वडा नं. ६ घर भई हाल जिल्ला भक्तपुर कौशलटार बस्ने वर्ष २० को आशिष पासवान, काठमाण्डौ जिल्ला शंखरापुर नगरपालिका वडा नं. ५ बस्ने वर्ष २१ को रिकेश पौडेल, र बागलुङ जिल्ला गलकोट नगरपालिका वडा नं. ७ घर भई हाल जिल्ला काठमाण्डौं कोटेश्वर महादेवस्थान बस्ने वर्ष १९ को प्रतिक गौतम रहेका छन् ।
प्रतिवादीहरुले मृतक विनोद खड्गीलाई अपहरण गरी फिरौती रकम पाँच लाख रुपैयाँ समेत लिई हात‚ खुट्टामा डोरीलो बाँधी क्रुरता पूर्वक संवेदनशिल अङ्ग लगायत शरीरको विभिन्न भागमा कुटपिट गरी कर्तव्य गरी मारेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले पत्रकार सम्मेलनमा जानकारी दिए । उनीहरुलाई प्रहरीले असोज ८ गते पक्राउ गरिएको उनले बताए । खड्कीकाे शव पाँचखाल नगरपालिका- ८ को ४८ किलो भन्ने ठाउँस्थित अरनिको राजमार्गको सडक छेउको झाडीमा असोज ६ गते भेटिएकाे थियाे ।
घटनाको कथा यस्तो छ-
असोज ५ गते १० बजे मनिषाले मेरो नागरिकताको प्रतिलिपी बनाउन जान सहयोग गर्नु पर्यो भनी फोन गरेर काठमाडौँको कीर्तिपुर नगरपालिका ५ बस्ने ५० वर्षका विनोद खड्गीलाई खाना खान बोलाउँछिन्।
बोलाएको डेढ घण्टापछि विनोद गाडीमा मनिषाको डेरामा पुग्छन्। शिवम् र मनिषा खाना पकाउँदै गर्दा विनोद अण्डा र रक्सी खाँदै बैठक कोठामा बस्छन्। खाना तयार भएपछि हतारहतार खाएर शिवम् बाहिर जान्छन्। विनोदले खाना खाइरहेको समयमा मनिषा खुर्सानी किन्ने बहानामा बाहिर जान्छिन् र अन्सुलाई फोन गरी भन्छिन्, ‘सबै तयार छ अबको ५ मिनेटमा हिमालय गेटबाट हिँड्नू।’ हिमालय गेटमा अन्सु, शिवम, सरिन, रिकेश, प्रतिक र आशिष जम्मा भएका थिए। प्रतिक र शिवम स्कुटरमा मनिषाको डेरातर्फ बाटो लाग्छन्।
उनीहरूले पहिल्यै योजना बनाइसकेका हुन्छन्। मनिषाको कोठामा पुगेर ढोका खोल्ने वित्तिकै विनोदलाई कुट्ने सल्लाह हुन्छ। उनीहरूले त्यहाँ पुगेपछि पूर्वयोजना अनुसार नै विनोदलाई लात्ती, मुड्कीले शरीरका संवेदनशील भागमा पनि प्रहार गरी सख्त घाइते बनाउँछन्।
त्यसपछि उनीहरूले सुरु गर्छन् फिरौती रकमको बार्गेनिङ। सुरुमा सबैले ३० लाख माग्ने कुरा हुन्छ। तर मनिषाले ३० लाख बढी भयो भन्दै १० लाखसम्म माग गर्छिन्। विनोदले मसँग त्यति पैसा छैन, ५ लाखसम्म हुन्छ भने म दिन तयार छु भन्छन्।
विनोदले सुरुमा आफ्नै मोबाइलबाट फोन गर्न खोज्छन्। तर मोबाइल ह्याङ भएको कारणले अन्सुको फोनमा विनोदको सिम हालेर आफ्नो बधशालामा काम गर्ने कर्मचारी प्रदीप थापा मगरलाई फोन गर्छन्। तत्काल ५ लाख रूपैयाँ चाहियो, भक्तपुरको राधेराधे भाटभटेनी अगाडि आर १५ मोटरसाइकलमा आउने व्यक्तिलाई उक्त रकम दिनु भन्छन्।
साँझ ५ बजेर १० मिनेटमा पैसा लिएर प्रदीप उक्त स्थानमा पुग्छन्। आशिष पासवान विनोदले पठाएको मानिस म नै हुँ भनेर प्रदीपसँग रकम माग्छन्। प्रदीपले विनोदलाई फोन गरेर फेरि निश्चित गर्छन् र ५ लाख रूपैयाँ दिन्छन्। १५/२० मिनेटपछि आशिष पैसा लिएर मनिषाको कोठामा पुग्छन्। उनले अन्सुलाई पैसा दिन्छन्।
त्यसपछि मनिषा, अन्सु, शिवम्, आशिष र प्रतीक मिलेर यसले हामीलाई भोलिको दिनमा छोड्दैन यसलाई मारेर फालिदिऊँ भनी योजना बनाउँछन्। आशिषले गाडी चलाउँछन्। अन्सु र शिवमले गाडीको बिचमा विनोदलाई राख्छन्।
मनिषाले गेट खोल्छिन्। गाडीको ढोका खोलेर घर वरिपरि रेक्की पनि मनिषाले गर्छिन्। प्रतीकले गाडीको अगाडि स्कुटरबाट एस्कोर्ट गर्दै जाने सल्लाह उनीहरूको हुन्छ। त्यही अनुसार राति १० बजे मनिषाको कोठाबाट भक्तपुरको सूर्यविनायक नगरपालिका ७ स्थित गणेश मन्दिर हुँदै गुन्डु तर्फ जान्छन्। गुन्डु जाने बाटोमा गाडी रोकेर विनोदको छातीमा ढुङ्गाले हान्छन्। त्यहीँ उनको हत्या गरेर साँगा, धुलिखेल हुँदै पाँचखालस्थित ४९ किलो पुर्याएर सडकबाट ८ मिटर तल झाडीमा विनोदको शव फालिदिन्छन्।