धुलिखेल । ‘पोल्ट्री क्षेत्रको विकासमा सर्वपक्षीय सहभागिता खाद्य र पोषण सुधार – हाम्रो प्रतिवद्धता’ भन्ने नारासहित राष्ट्रिय पोल्ट्री दिवस, २०७९ कार्यक्रम काभ्रेमा पनि सप्ताहव्यापी कार्यक्रम जारी छ । पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले पुस ११ गतेदेखि १७ गतेसम्म मनाउने दशौँ राष्ट्रिय पोल्ट्री दिवसको कृषि तथा पशुपन्छी विकासमन्त्री बसुन्धरा हुमागाईँको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन भएको हो । बागमती प्रदेशको अर्थतन्त्रमा विशेष योगदान दिँदै आएको पोल्ट्री क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउन कार्यक्रमको आयोजना गरिएको मन्त्री हुमागाईँले बताउनुभयो ।
वि.सं. २०१७ साल पौष १७ गते सरकारीस्तरबाट बाराको परवानीपुरमा निर्मित सेन्ट्रल ह्याचरीको उद्घाटन भएको सन्दर्भमा उक्त दिनको ऐतिहासिक महत्वलाई दृष्टिगत गरी वि.सं. २०७० सालदेखि हरेक वर्ष पौष १७ गतेलाई राष्ट्रिय पोल्ट्री दिवसका रूपमा मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइन्छ ।
यस कार्यक्रमले पोल्ट्रीजन्य उत्पादनको उपभोग प्रवद्र्धन गर्ने तथा पोल्ट्रीजन्य उत्पादनको पौष्टिक महत्वका बारेमा उपभोक्तालाई जानकारी गराइ दैनिक उपभोगका लागि आकर्षित गर्ने मन्त्रालयको उद्देश्य रहेको छ ।
पुस १२ गते पोल्ट्रीसँग सम्बन्धित संघसंस्थाको समन्वयमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत् सामुदायिक विद्यालयमा अण्डा तथा मासु उपभोगको महत्वका बारेमा स्कुल शिक्षा कार्यक्रमसहित अण्डा खुवाउने कार्यक्रम आयोजना गर्ने, पुस १३ गते गर्भवती महिला, कुपोषण र पुड्कोपना भएका बालबालिकाहरूलाई अण्डा वितरण गर्ने कार्यक्रम छ । पुस १४ गते पोल्ट्री कृषकहरूलाई पोल्ट्री व्यवसायसम्बन्धी सचेतना कार्यक्रम, पुस १५ गते पोल्ट्री क्षेत्रसँग सम्बन्धित र सान्दर्भिक लेख रचना पत्रपत्रिका र अनलाइनहरूमा प्रकाशन गर्ने, १६ गते श्रमिक बजारमा श्रमिकहरूलाई अण्डाको परिकार वितरण गर्ने र पुस १७ गते समापन कार्यक्रम आयोजना गर्ने मन्त्रालयले जनाएको छ ।
आर्थिक वर्ष २०७८ र ७९ को तथ्याङ्कअनुसार बागमती प्रदेशमा १ लाख ६३ हजार ९ सय ३९ मेट्रिक टन मासु उत्पादन भएको थियो । जसमध्ये कुखुरा र हाँसको मासु उत्पादन १ लाख १३ हजार ४ सय ३२ मेट्रिक टन रहेको छ । प्रदेशमा उक्त अवधिमा ८ लाख ९९ हजार ३ सय ५३ गोटा अण्डा उत्पादन भएको थियो । प्रदेशको कूल मासु उत्पादनमा पोल्ट्रीको योगदान ६९ प्रतिशत छ भने राष्ट्रिय अण्डा उत्पादनमा बागमती प्रदेशको योगदान करिब ६० प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ ।
पशुपन्छी पालन क्षेत्रले मुलुकको कुल ग्राहस्थ उत्पादनमा करिब १३ प्रतिशत योगदान पु¥याउँदै आएको छ । त्यसमा पनि बागमती प्रदेशभित्रका विभिन्न स्थानमा सञ्चालित पोल्ट्री व्यवसायले मुलुकको कूल मासु उत्पादनमा २२ प्रतिशत तथा अण्डा उत्पादनमा ६० प्रतिशत योगदान दिँदै आएको छ ।
सप्ताहव्यापी कार्यक्रम अन्र्तगत काभ्रेको पनौती नगरपालिका –५, चौकोट स्वास्थ्य चौकीका सुत्केरी र गर्भवती महिला, विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई अण्डा तथा मासुका बारेमा विभिन्न कुराको जानकारी दिइएको छ ।
कुखुराको अण्डा र मासुको पौष्टिक महत्व बारे स्कुल शिक्षा –
सो सवसरमा कुखुराको अण्डा र मासुको पौष्टिक महत्वबारे भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख राजकुमार हुमागाई र सूचना अधिकारी डा.नितेश कार्कीले धनेश्वर आधारभुत विद्यालय र बालमन्दिर धुलिखेलमा अध्ययनरत विद्यार्थीहरुलाई प्रस्तुतिकरण तथा आवश्यक शिक्षा दिनुभयो ।
अण्डाको पौष्टिक महत्वः
अण्डामा प्रसस्त मात्रामा प्रोटिन, चिल्लो, भिटामिन र खनिज पदार्थहरु पाइन्छन् । अण्डाबाट प्राप्त हुने उच्चस्तरको प्रोटिन सजिलैसित पचाउन सकिन्छ । अण्डामा फलाम फस्फोरस र अति कम मात्रामा चाहिने अन्य खनिज पदार्थहरु भिटामिन ए, इ,के, बी २ बी ५ र बी १२ समेत सबै बी भिटामिनहरुको राम्रो स्रोत पनि हो । कुखुराको अण्डामा रहेको सेलेनियमले क्यान्सर विरुद्ध लड्दछ भने फोस्फोरस र क्याल्सियमले दाँत र हड्डीलाई र जिंकले इम्युन सिस्टमलाई मजबुत बनाउँदछ ।
आँखाको तेजपना बढाउनको लागि समेत अण्डाको सेवन अतिनै महत्वपूर्ण छ । त्यसकारण पनि दैनिक १÷२ वटा अण्डा वा हप्तामा ४÷५ अण्डा खानु उपयुक्त मानिन्छ । माछाको तेलपछि कुखुराको अण्डा मात्र भिटामिन डी को प्राकृतिक स्रोत हो । एक मझौला आकारको अण्डाले ७७ केलोरी शक्ति प्रदान गर्दछ । कुखुराको अण्डाबाट पाउरोटी, केक, चाउचाउ लगायत अनेक प्रकारका स्वादिष्ट परिकारहरु तयार गर्न सकिन्छ ।
मासुको पौष्टिक महत्वः
क) हाल आएर सबै भन्दा बढी उपभोग हुने मासुमा कुखुराको मासु नै पर्दछ ।
खं) कुखुराको मासु उच्चस्तरको पौष्टिक खाद्य पदार्थ हो ।
ग) कुखुराको मासु खसीको मासु भन्दा सस्तो र सजिलै उपलब्ध हुने तथा स्वास्थ्यको लागि समेत उपयुक्त हुने भएकोले लोकप्रिय हुँदै गइरहेको छ ।
घ) हाम्रो दैनिक खानामा मासु सम्मिलित गरेर हाम्रो खानाको पौष्टिकतामा सुधार गर्न सकिन्छ ।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अण्डा खुवाइयो –
धनेश्वर आधारभुत विद्यालय, पनौती र बालमन्दिर स्कुल धुलिखेलमा अध्ययनरत विद्यार्थी र शिक्षक तथा कर्मचारीहरुलाई स्कूल शिक्षा पश्चात अण्डा सहितको खुवाउने कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा कार्यालयका सम्पूर्ण कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा पनौती नगरप्रमुख रामशरण भण्डारी, पोल्ट्री व्यवसायी अन्र्तगत हिमालयन ह्याचरीका दयाराम महत लगायत विभिन्न महानुभावहरुको सहभागीता रहेको बताइयो ।
शनिबार बिहान ८ बजे बनेपा नपा–७, स्थित तरकारी बजारमा मजदुरहरुलाई अण्डा र मासुबारे जानकारी दिने र अण्डा खुवाउने कार्यक्रम रहेको जानकारी केन्द्रका प्रमुख राजकुमार हुमागाई जानकारी दिनुभयो । आइतबार कार्यक्रमको समिक्षा गर्नु उत्कृष्ट हुनेहरुलाई पुरस्कार वितरण गरी समापन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।