धुलिखेल÷नेकपा (एकीकृत समाजवादी)का पोलिट्ब्युरो सदस्य तथा पूर्व संविधानसभा सदस्य कृष्णप्रसाद सापकोटाले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन राजनीतिक परिवर्तन पक्षधर र परिवर्तनविरोधी बिचको जनमत संग्रह जस्तै भएको बताउनु भएको छ । शनिबार काभ्रे क्षेत्र नं २(१) को धुलिखेल नपाको ४,५,६ र ७ को बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूको घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले गठबन्धनका दलहरुलाई मतदान भनेको गणतन्त्र जोगाउन भोटको ऐंचोपैंचो भएकोले निर्धक्कसाथ गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा एकीकृत समाजवादीका नेता सापकोटाले राजनीतिक सिद्धान्त र विचार फरक भएका पार्टीहरुको गठबन्धन भए पनि राष्ट्रियता, संविधान र व्यवस्था जोखिममा परेको बेला विगतदेखि नै काँग्रेस कम्युनिष्ट एक ठाउँमा उभिएको स्मरण गर्दै ओलीको राजा शैलीले गर्दा गठबन्धन गर्नुपरेको बताउनु भयो । यो गठबन्धन सात सालदेखिको राजनीतिक परिवर्तन पक्षधरको निरन्तरता भएको पनि उहाँले बताउनु भयो ।
प्रदेश २ का गठबन्धनका साझा उम्मेदवार शिव हुमागाईले नेपाली काँग्रेसले परिवर्तनको नेतृत्व गरेको सम्झेर जोगाउने कर्तव्य पनि महसुस गर्दै संविधानको रक्षा र जनताको शासन व्यवस्था जोगाउन योगदान गर्ने पार्टीहरुसहितको गठबन्धनलाई जिताउनु काभ्रे जिल्लावासीको कर्तव्य भएको बताउनु भयो । उम्मेदवार हुमागाईले गठबन्धन सबैका लागि सबै आवश्यक भएको र देशैभर गठबन्धनको निर्णयअनुसार मतदान गरी राजनीतिक परिवर्तनलाई जोगाउनुपर्ने बताउनु भयो । महेन्द्रले ‘कु‘ गर्दा विपी र कम्युनिष्टहरू एक भएका थिए, पञ्चायत फाल्न गिरिजाप्रसाद, कृष्णप्रसादहरु र कम्युनिष्टहरु एक भएको सन्दर्भ उल्लेख गर्दै कम्युनिष्ट पार्टीका नाममा एउटा स्वार्थ समूहको अधिनायकवादबाट देशलाई जोगाउन काँग्रेस कम्युनिष्ट एक हुनुको विकल्प नभएको बताउनु भयो ।
प्रतिनिधि सभा–२(१)का बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार लक्ष्मण लम्सालले व्यक्ति मनपर्ने वा नपर्ने, नजिक वा टाढाको मेरो वा अरुको नभनी गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गर्नुभयो ।
लम्सालले गठबन्धनका लागि गरिने मतदान अधिनायकवाद विरुद्ध र गणतन्त्रका पक्षमा हुने भएकाले आफ्नो उम्मेदवार नभएका ठाउँमा पनि गठबन्धनकै पक्षमा मतदान गर्नुपर्ने बताउँदै मतदाताको शीर उँचो राख्दै व्यवस्था जोगाउँदै जनताको अवस्था परिवर्तन गर्न लाग्ने प्रतिवद्धता जनाउनु भयो । लम्सालले अनुभवी इमानदार र क्षमतावान सिनियर नेताहरु सहित आफू ऊर्जाशील युवाको प्रतिनिधित्वलाई जिताउन सिंगो पार्टी पंक्तिले गरेको मेहेनतको प्रशंसा गर्दै सबै क्रियाशील र संगठित सदस्यहरुले आफैं उम्मेदवार भएको अनुभूत गर्न आग्रह गर्नुभयो ।
गठबन्धन निर्वाचन परिचालन कमिटिको संयोजक भवसागर रञ्जितको अध्यक्षतामा र सचिव पार्वती थापाको सञ्चालनमा भएको कार्यक्रममा समानुपातिक उम्मेदवारहरु दिलसुन्दर श्रेष्ठ, मिना तामाङ, हरिगोपाल प्रधानाङ्ग, लक्ष्मी दनुवार लगायत गठबन्धन दलका जिल्ला तथा स्थानीयका नेता–कार्यकर्ताहरु सहभागी थिए ।