बनेपा / बागमती प्रदेश सरकार अन्तर्गतको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अर्थात् हालै परिवर्तित नाम आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, काभ्रेको आयोजनामा सोमबार पत्रकारहरुसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
चिकित्सालयले गरेका गतिविधि र भावी योजनाबारे जानकारी दिँदै आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेका प्रमुख डा. वशंंवदम्वा कौण्डिन्यायनीले चालु आर्थिक वर्षको ११ महिनामा २९ हजार ८१९ जनाले सेवा लिएको बताउनुभयो । उनले बहिरङ्ग चिकित्सा सेवाअन्तर्गत १७ हजार ८७५ महिला र ११ हजार ९४४ पुरूष गरी २९ हजार ८१९ जनालाई सेवा प्रदान गरिएको जानकारी दिनुभयो। यो संख्या चिकित्सालयमा सेवा लिन आएका व्यक्तिको संख्या हो । उहाँले आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा विगतका तुलनामा सेवाग्राहीकाे चाप बढेकाे जानकारी दिनुभयो ।
यसअघि सिमित मात्रामा मात्र बिरामी आयुर्वेदिक अस्पतालमा आउने गरेको भएपनि पछिल्ला दिनहरुमा भने यसतर्फ बिरामीको आकर्षण बढेको पाइएको उहाँको भनाई थियो । उपचारका लागि थोरै स्थान भएको र सेवाग्राहीहरु बढ्दै गएकाले स्वास्थ्यकेन्द्रबाट १६ शैय्यायुक्त चिकित्सालयकाे अवधारणामा जाने र प्रदेशका ५ जिल्लामा अहिले नै प्रारम्भ भइहाल्ने तथा अरु जिल्लाले केही पर्खनुपर्ने बताइएको छ । जिल्लामा संचालित अस्पतालले आफ्ना सेवाहरु निःशुल्क गरेका कारण र मानिसहरुले उपचारविधिमा परिवर्तन आएका कारण यसतर्फ बिरामीहरुको आकर्षण बढेको अस्पतालका प्रमुख डा. वशंवदा कौण्डिन्न्यायनीले जानकारी दिनुभयो । यस अस्पतालले हाल २२ देखि २५ प्रकारका औषधीहरु निःशुल्क वितरण गरिरहेको छ । यसका साथै विभिन्न प्रकारका उपचार प्रविधिहरुको पनि निःशुल्क सेवा दिइरहेको उनले बताउनुभयो । हामीले बिरामी भएर अस्पताल धाउनुभन्दा पनि उचित खानपानमा ध्यान दिन सके र नियमित योग गर्ने हो भने मानिस स्वस्थ हुने भएकाले यसतर्फ सोच्नु पर्ने उहाँको सुझाव थियो ।
अन्तरक्रियामा बोल्दै चिकित्सालय प्रमुख रहेका आयुर्वेद चिकित्सक डा. वशंंवदम्वा कौण्डिन्यायनीले आयुर्वेदिक चिकित्सा पद्धती र आयुर्वेदिक चिकित्सालयका कार्यक्रम र योजनामा जनप्रतिनिधि, कर्मचारी लगायतको कम प्राथमिकमतामा परेको गुनासो गरिन् । ‘आयुर्वेदिक चिकित्सा पद्धतीको बारेमा जनप्रतिनिधि, उच्च पदस्थ कर्मचारी र सरोकारवालाको चासो कम छ, उहाँहरुले बुझ्नु भएको छैन, बुझ्न चाहनुभएको छैन,’ पत्रकारहरुको प्रश्नको जवाफमा उनले भनिन्, ‘केही जनप्रतिनिधिको चासो छ तर कतिपयलाई हामीले उहाँहरुलाई बुझाउन नसकेको पनि हो की, हाम्रा कार्यक्रममा उहाँहरुको सहभागिता र उपस्थिति नै कम हुन्छ ।’
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिनाले वैकल्पिक चिकित्सा पद्धती प्रवद्र्धनको लागि सबैको उत्तिकै भूमिका रहेको तर्क गर्दै यो अभियानमा सञ्चार क्षेत्रको पनि साथ रहने प्रतिवद्धता व्यक्त गरे ।
कविराज प्रताप लामाले आयुर्वेद विश्वकै जेठो र प्रभावकारी चिकित्सा पद्धती भएको भन्दै यसको प्रवद्र्धनमा सञ्चार क्षेत्रको भूमिका हुने बताए ।
चिकित्सालयले बिरामी परीक्षण एवं अत्यावश्यक आयुर्वेद औषधि निःशुल्क वितरण, प्रयोगशाला सेवा, भिडियो एक्सरे, फिजियोथेरापी, अकुपञ्चर, क्षरसूत्र, पञ्चकर्म, पूर्वकर्म सेवा दिँदै आएको छ ।
यस्तै, दुखाई व्यवस्थापनअन्तर्गत अभ्यङ्ग/स्वेदन, जानुवस्ती/कटिवस्ती/ग्रिवावस्ती/मात्रावस्ती/पत्रपिण्ड स्वेदन, तनाव व्यवस्थापनअन्तर्गत सर्वाङ्ग, अभ्यङ्ग/स्वेदन, शिरोधारा, पिनास/माइग्रेनअन्तर्गत नश्य सेवा दिँदै आएको छ ।
यस्तै, आँखाको समस्या नेत्रतर्पण, थेराप्युटिक योग, जीवनशैली व्यवस्थापन, नियमित योग, प्राणायम, स्वस्थ आहार विहार, पथ्यापथ्य परामर्श, स्तनपाई आमालाई दुग्धवर्धक औषधि वितरण, ज्येष्ठ नागरिक स्वास्थ्य सेवा, सःशुल्क फार्मेसी सेवा पनि चिकित्सालयले दिँदै आएको छ ।
यसका साथै जिल्लाका कैदीबन्दीहरुलाई तनाव व्यवस्थापनका लागि योगाभ्यास तथा मनोपरामर्श कार्यक्रम पनि संचालन गरिएको थियो । जसमा जिल्ला कारागारमा रहेका करिब ३०० जना कैदीलाई सो सेवा दिइएको थियो ।
जिल्लाको धुलिखेल, दाप्चा, मंगलटार र बालुवामा रहेको आयुर्वेदिक औषधालय र बेथानचोक, भुम्लु, पनौती र मण्डनदेउपुरमा रहेका नागरिक आरोग्य केन्द्रमार्फत आयुर्वेदिक उपचार सेवा प्रदान भइरहेको छ ।
कार्यालयले आगामी आर्थिक वर्षमा न्यूनतम सेवा मापदण्डअनुसार सेवा प्रवाहको मूल्यांकन उच्च बनाउने, पञ्चकर्म, अकुपञ्चर, फिजियोथेरापी लगायतका सेवाहरु थप व्यवस्थित एवं फराकिलो बनाउने, प्रदेश आयुर्वेद चिकित्सालय सञ्चालनका लागि आवश्यक पहल गर्ने योजना अघि सारेको छ ।कार्यक्रममा सहभागी जिल्लाका कृयाशिल सञ्चारकर्मीले आफ्ना जिज्ञासा र सुझाव राखेका थिए।